विष्णु देवकोटा
व्यक्तिलाई देवत्वकरण गर्ने संस्कारले डोल्पाको विवेक लामो समयदेखि बन्धक बनाइयो। प्रश्न सोध्नु अपराध बनाइयो, आलोचना गद्दारी ठहरियो।
त्यही मौनताको अँध्यारोमा राज्यको ढुकुटी विकासका नाममा होइन, निजी विलासका लागि खर्च हुँदै गयो।घरबास कार्यक्रमको नाममा घर बने, ठेक्कापट्टा जनजीवन बदल्ने औजार होइन, भागबन्डाको पासा बन्यो।
निजी जग्गा, निजी घर र निजी घेराबारका नाममा बजेट पचाइयो, तर सार्वजनिक सपना क्रमशः सुक्दै गए।दशकौँदेखि विमानस्थल निर्माण जिल्लाको सपना होइन, केही सीमित व्यक्तिको कमाई खाने ठक्ने आैजार बन्याे ।
धावनमार्ग बनेन,तर फाइल, बिल र भुक्तानी हरेक वर्ष उडिरहे।विमानस्थल अहिले गाैचरनमा परिणत भएकाे छ ।प्लेन बास्तविकतामा कहिल्यै विमानस्थलमा गुडेन,तर पनि उम्मेदवारकाे लागि ललिपपकाे चुनावी झुट्टा आश्वासन रुपि नारा बनिरह्याे ।केही ब्यक्तिले बाबुको विरासतको नाममा मर्यादित पेशा समेत लिलामी गरेर उपभोक्ता लिन बनिरहे र रहेका छन ।
कहिल्यै सम्पन्न नहुने सिँचाइ योजनामा “निर्माणाधीन” लेखेर उपभोक्ता समिति अध्यक्ष बनिरहेका छन, पानी खेतमा पुगेन, तर केहीको जीवन विलासितामा डुब्यो। कतै तटबन्ध कागजमै बनाइयो, कतै नक्कली कागजात देखाएर बजेट तानियो।नदीले गाउँ बगायो, कमिशनले भने शहरमा निजी महल ठड्यायो।
यी सबै दृश्यमा एउटा गम्भीर र लाजमर्दो अध्याय थपिएको छ ।डोल्पाका केही ‘परिवर्तनकारी’ भनिने युवा।भ्रष्टाचार र बेथितिको विरोधी हुँ भनेर माइक समाउने, उच्च शिक्षा पढेका, सामाजिक सञ्जालमा क्रान्तिकारी स्टाटस लेख्ने केही लक्का जवानहरू व्यवहारमा भने पुरानै नेतृत्वका अन्धभक्त बनेका छन्।
कोही पार्टीको झोला बोक्न पाएपछि विवेक सुम्पिन्छन्,कोही “पछि लागे एक छाक खाना, मासु–रक्सी पाइन्छ” भनेर आफ्नै भविष्य सस्तोमा बेचिरहेका छन्। कोही ठेक्कापट्टाको आशमा सामाजिक परिवर्तनलाई तिलाञ्जली दिएर पुरानै अनुहारलाई देवता बनाउने अभियानमा खटिएका छन्।
हामी युवा भन्नेहरूलाई न भोलिको चिन्ता छ,न भावी पुस्ताको।घरमै गाई लक्ष्मी हुँदा पनि पूजा नगरी भ्रमको मृगतृष्णा पछ्याइरहेजस्तै
आफ्नै सम्भावना छाडेर परजीवी संस्कार अँगालिरहेका छन्।यिनै युवाको काँधमा उभिएर
पुरानो नेतृत्व फेरि सिंगारिन्छ,भ्रष्ट प्रणाली फेरि बलियो बन्छ,र डोल्पाको परिवर्तन फेरि धकेलिन्छ।
सत्ता हुँदा सैद्धान्तिक देखिनेहरू,शक्ति रहुन्जेल अडानको नक्कली जलप लगाउनेहरू, अन्तरघातलाई रणनीति बनाउनेहरू ।यी सबैको सबैभन्दा ठूलो हतियार युवाको विवेक होइन,
युवाको कमजोरी बनेको छ।अब प्रश्न नेतृत्वलाई मात्र होइन,युवालाई पनि हो।तिमी परिवर्तनको पक्षमा छौ कि पुरानो भ्रष्ट संरचनाको इन्धन ?डोल्पा : लुटको प्रयोगशाला कहिले सम्म ?तसर्थ फागुन २१ साधारण मतदानको दिन होइन। यो युवाले आफ्नै आत्मासँग सोध्ने प्रश्नको दिन हो ।
म परिवर्तनको हिस्सेदार बन्छु कि फेरि ठगिन सहमत हुन्छु ? पुरानै ढर्राको नेतृत्वलाई फेरि काँध हाल्नु भनेको आफ्नै भविष्यमा बन्चरो हान्नु हो।
अब निर्णय गरौँ ।दलाल होइन, नेतृत्व छानौँ। देवता होइन, जवाफदेही प्रतिनिधि खोजौँ।आत्मघात होइन, परिवर्तन रोजौँ।अनि मात्र डोल्पाले कागजमा होइन, वास्तवमै काँचुली फेर्नेछ।

डोल्पा न्यूज । १८ माघ २०८२, आईतवार २१:४३