
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी समूहले माग गरे बमोजिम सुशीला कार्की नेतृत्वको सरकारलाई हटाउन आग्रह गरेका छन् ।
जेनजीको माग भनेर जसरी जडान गरियो त्यसैगरी हटाउन सकिने ओलीको तर्क छ । शनिबार एमालेले काठमाडौंमा आयोजना गरेको जासभालाई सम्बोधन गर्दै ओलीले जेनजीको माग बमोजिम नै यो सरकारलाई बिदा गर्नुपर्ने बताएका हुन् ।
‘यो सरकार आफूलाई जेनजी भन्छ, जेनजी आफैंले राष्ट्रपतिकोमा डेलिगेसन गएर भनेका छन्– यो सरकार हटाउनु पर्यो भनेर माग गरेका छन् । राष्ट्रपतिज्यू अस्ति जेनजीका माग भनेर यो सकार जडान गर्नुभयो । जेनजीको माग बमोजिम यो सरकार किन बिदा गर्नु हुन्न ?,’ ओलीले प्रश्न गरे ।
जेनजीका २३ वटा समूहले कार्की नेतृत्वको सरकारलाई फिर्ता गराउन माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गराएका थिए । ‘यो सरकार हटाउनुस्, संविधानले दिँदैन भने अस्ति कहाँ दिएको थियो ? यो संविधानअनुसार नबनेको सरकार हटाउन के ले रोक्यो ?,’ ओलीले भने ।
अवैध ढंगले संविधान बाहिरबाट बनेको सरकारलाई विस्थापित गर्नका लागि प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने ओलीले बताए ।
प्रतिनिधिसभा पुनःस्थापनाका लागि जनमत सृजना गर्न भन्दै एमालेले शनिबार काठमाडौंमा जनसभा आयोजना गरेको हो ।

डोल्पा न्यूज । ६ मंसिर २०८२, शनिबार १५:२६