डाेल्पान्युज
काठमाडौं, चैत १२ ।एभिन्युज खबर टेलिभिजनले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सप्तरी क्षेत्र नं. १ का उम्मेदवार शम्भु प्रसाद देवेलाई जोडेर प्रसारित गरिएको खर्चसम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संस्थाले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त उम्मेदवारले निर्वाचन आयोगमा पेश गरेको विवरणअनुसार आफ्नो टेलिभिजनमार्फत कुनै रकम प्राप्त नभएको स्पष्ट पारेको छ। साथै, देवेद्वारा दिइएको अन्तर्वार्तामा पनि प्रचार–प्रसारसम्बन्धी कुनै भुक्तानी नभएको दाबी गरिएको उल्लेख गरिएको छ।
एभिन्युजले आफूबाट कुनै पनि प्रकारको प्रायोजित सामग्री उत्पादन, स्वीकृति वा प्रसारण नभएको जानकारी दिँदै गलत तथा भ्रामक विवरण सार्वजनिक गरिएकोप्रति आपत्ति जनाएको हाे। यस्ता गतिविधिले संस्थाको साख र विश्वसनीयतामा असर पार्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरिएको छ।

विज्ञप्तिमा सञ्चारमाध्यमले समाचार र विज्ञापनबीच स्पष्ट विभाजन गरी पारदर्शी ढंगले सामग्री प्रसारण गर्दै आएको उल्लेख गरिएको छ। भुक्तानी गरिएको सामग्रीलाई स्पष्ट रूपमा संकेत गरेर मात्र प्रसारण गर्ने नीति अपनाइएको पनि जनाइएको छ।
संस्थाले पत्रकारिताको नैतिक मापदण्ड पालना गर्दै सत्य र तथ्यमा आधारित सामग्री मात्र प्रसारण गर्ने प्रतिबद्धता समेत दोहोर्याएको छ।

डोल्पा न्यूज । १२ चैत्र २०८२, बिहीबार २१:२०