ताजा समाचार

त्रिपुरासुन्दरी मन्दिरबाट  चाेरी भएकाे भेटी रकम मन्दिर परिसरमै फेला:पुजारीलाई हस्तान्तरण

विष्णुप्रसाद देवकोटा
डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटस्थित बाला त्रिपुरासुन्दरी मन्दिरबाट असोज ३ गते हराएको ५५ हजार ८० रुपैयाँ भेटी रकम मन्दिर परिसरमै फेला परेको छ।
मन्दिर सुरक्षा टोलीका इन्चार्ज प्रहरी हवल्दार चन्द्रबहादुर जिसीका अनुसार खोजतलासका क्रममा मन्दिरको पश्चिमतर्फ धुपीको रुखनजिक टिमुर झाडीमा पहेँलो गेरुवस्त्रजस्तो कपडाको सानो झोलामा बेरेर राखिएको अवस्थामा रकम फेला परेको हो।
मन्दिरका सरोकारवाला, न्यौपाने खलक, पुजारी तथा सुरक्षाकर्मीको उपस्थितिमा गरिएको खोजतलासका क्रममा त्रिपुराकोटका मुखिया तथा पुजारी टिकादत्त न्यौपानेले रकम झाडीमा राखिएकाे अवस्थामा देखेका थिए ।
रकम फेला परेपछि हवल्दार जिसीले मन्दिरका रोलक्रमवाला पुजारी रामप्रसाद उपाध्यायलाई सरोकारवालाको रोहवरमा हस्तान्तरण गरेका छन्।
यसअघि रकम हराएपछि प्रहरीले घटनाको अनुसन्धानका लागि मन्दिरमा जडान गरिएको सीसीटीभी लगायतकाल सामग्री परीक्षण गरेको थियो। मन्दिरको मुख्य भागमा पुजारीबाहेक अन्य व्यक्तिको प्रवेशमा प्रतिबन्ध रहेकाले घटनालाई गम्भीर रूपमा लिइएको थियो। रकम फेला परे पनि घटनाको वास्तविकता पत्ता लगाउन अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
यसैबीच, श्री बाला त्रिपुरा सुन्दरी योगिनी उद्यान पीठ त्रिपुराकोटले प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षाकर्मीको अनुसन्धानप्रतिको तत्परता तथा देवीदेवताको आशीर्वादका कारण रकम फेला परेको जनाएको छ।विज्ञप्तिमा सामाजिक सञ्जालमार्फत पुजारी, सरोकारवाला तथा न्यौपाने थरखलकको कमजोरी र लापरबाहीबारे आएका प्रतिक्रियालाई स्वाभाविक रूपमा लिएको, तर केही व्यक्तिको व्यक्तिगत चरित्र तथा संस्थागत रूपमा आक्षेप लगाउने सामग्रीप्रति दुःख व्यक्त गरिएको उल्लेख छ।

तपाईको प्रतिक्रिया