विष्णुप्रसाद देवकोटा
डोल्पा।
हिमाली जिल्ला डोल्पामा पहिलो पटक निजामती कर्मचारीका लागि ई–पेन्सन पट्टा सेवा सुरु गरिएको छ। नेपाल सरकारले २०८२ चैत ६ गतेदेखि देशभर लागू गरेको यो सेवा डोल्पामा भने २०८३ असार २३ गतेबाट औपचारिक रूपमा सञ्चालनमा आएको हो।
डोल्पाबाट पहिलो पटक ई–पेन्सन पट्टा प्राप्त गर्ने निजामती कर्मचारी शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सेवा निवृत्त कर्मचारी सुउलाला रोकाया बनेका छन्।
ई–पेन्सन पट्टा जिल्ला सदरमुकाममै प्राप्त गर्न पाउँदा आफू अत्यन्त खुशी भएको बताउँदै रोकायाले यसअघि यस्तो सेवा लिन लाखौं रुपैयाँ खर्च गरी काठमाडौं पुग्नुपर्ने बाध्यता रहेको स्मरण गरे। अब भने आफ्नै जिल्लाबाट सहज रूपमा सेवा उपलब्ध हुन थालेपछि समय, खर्च र झन्झट दुवैको अन्त्य भएको उनको भनाइ छ।
कोष तथा लेखा नियन्त्रक कार्यालय डोल्पाका प्रमुख जगत घर्तीका अनुसार सरकारले २०८२ चैत ६ गतेदेखि लागू गरेको ई–पेन्सन प्रणाली डोल्पामा पहिलो पटक कार्यान्वयनमा ल्याइएको हो।
उनले हालका लागि यो सेवा निजामती कर्मचारीका लागि सुरु गरिएको जानकारी दिँदै सरकारको नीतिअनुसार आगामी दिनमा अन्य सरकारी सेवाबाट सेवा निवृत्त हुने कर्मचारीलाई समेत क्रमशः ई–पेन्सन प्रणालीमार्फत सेवा उपलब्ध गराइने बताए।
प्रमुख घर्तीका अनुसार ई–पेन्सन प्रणाली लागू भएसँगै पेन्सनसम्बन्धी विवरण अद्यावधिक गर्न तथा आवश्यक कागजातका लागि पटक–पटक बैंक वा अन्य कार्यालय धाउनुपर्ने झन्झट पनि हट्नेछ। यसले सेवा प्रवाहलाई थप छरितो, पारदर्शी र प्रविधिमैत्री बनाउने विश्वास कार्यालयले लिएको छ।
हिमाली तथा दुर्गम जिल्ला डोल्पामा ई–पेन्सन सेवा सुरु हुनु सेवा निवृत्त कर्मचारीका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।काेष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल बृर्ख भण्डारीले ईपेन्सन प्रणाली आवश्यकता महत्व र प्रभावकारीता लगायत भविष्यमा प्रवाह गरिने सेवका बारे प्रकाश पारेका थिए ।
डोल्पामा पहिलो पटक ई–पेन्सन पट्टा सेवा सुरु, काठमाडौं धाउने बाध्यता अन्त्य
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । २३ असार २०८३, मंगलवार १५:४२