ताजा समाचार

डोल्पाको माटोमा बढ्दो क्षारीयता : ७६ नमुनामध्ये ४६ मा समस्या, कृषिमा चुनौती

डोल्पा : हिमाली जिल्ला डोल्पाको अधिकांश माटो क्षारीय प्रकृतिको बन्दै गएको तथ्य सार्वजनिक भएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत गरिएको माटो परीक्षणले जिल्लाको कृषि उत्पादन र माटो स्वास्थ्यप्रति चिन्ता थपिएको देखाएको हो।
कार्यक्रम कार्यान्वयन एकाइ डोल्पाले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेको ‘माटो परीक्षण तथा माटो स्वास्थ्य व्यवस्थापन’ कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न पालिकाबाट संकलित माटोको नमुना परीक्षण गर्दा धेरैजसो माटो क्षारीय भेटिएको जनाएको छ। मुड्केचुला गाउँपालिका, त्रिपुरासुन्दरी नगरपालिका, ठूलीभेरी नगरपालिका र काइके गाउँपालिकाबाट संकलन गरिएका ७६ नमुनामध्ये ४६ नमुना क्षारीय, २४ तटस्थ र ६ नमुना अम्लीय फेला परेका हुन्।
परीक्षणमा माटोको पिएच, नाइट्रोजन, फस्फोरस तथा पोटास तत्वको अवस्था अध्ययन गरिएको थियो। नतिजाअनुसार अधिकांश माटोमा फस्फोरसको मात्रा उच्च देखिएको छ भने नाइट्रोजन मध्यम अवस्थामा रहेको पाइएको छ।
कार्यक्रम कार्यान्वयन एकाइ डोल्पाका निमित्त कार्यालय प्रमुख गोविन्दबहादुर मल्लले डोल्पाको सुख्खा हावापानी, भौगोलिक बनावट र माटो व्यवस्थापनको कमीले समस्या बढ्दै गएको बताए। उनका अनुसार एउटै बाली निरन्तर लगाउने प्रवृत्ति, रासायनिक मलको असन्तुलित प्रयोग, प्राङ्गारिक पदार्थको कमी र भू–क्षयका कारण माटोको उर्वराशक्ति घटिरहेको छ।
विशेषगरी स्याउ र सिमी खेतीका लागि माटोको सन्तुलन अत्यन्त आवश्यक पर्ने भन्दै उनले परीक्षणपछि कृषकलाई ‘माटो स्वास्थ्य कार्ड’ वितरण गरिने जानकारी दिए। यसले कृषकलाई आफ्नो खेतको अवस्था अनुसार बाली छनोट र मल प्रयोगबारे वैज्ञानिक जानकारी दिने विश्वास गरिएको छ।
कार्यक्रम अन्तर्गत कृषकलाई प्राङ्गारिक मलको प्रयोग, हरियो मल, बालीचक्र, चिस्यान संरक्षण र माटो संरक्षणसम्बन्धी अभिमुखीकरण समेत गरिएको छ। प्राविधिकहरूका अनुसार क्षारीय माटो सुधारका लागि कम्पोष्ट मल, जिप्सम, सल्फर तथा हरियो मलको प्रयोग प्रभावकारी हुने गर्दछ।
कार्यालयका अनुसार पिएच ६ देखि ७ सम्मको माटो अधिकांश बालीका लागि उपयुक्त मानिन्छ। अत्यधिक क्षारीय वा अम्लीय माटोले बिरुवाले आवश्यक पोषक तत्व सोस्न नसक्ने भएकाले उत्पादनमा प्रत्यक्ष असर पर्ने कृषि प्राविधिकहरूको भनाइ छ।
कार्यक्रम कार्यान्वयन एकाइ डोल्पाले आगामी वर्षहरूमा पनि स्थानीय तहसँग सहकार्य गर्दै जिल्लाभर माटो परीक्षण अभियानलाई निरन्तरता दिने जनाएको छ।

तपाईको प्रतिक्रिया