ताजा समाचार

डोल्पाबाट सांसद बनेका बुढाको प्रतिबद्धता:“जनताको विश्वास कहिल्यै झुक्न दिने छैन”

डोल्पा । प्रतिनिधि सभा सदस्यमा नवनिर्वाचित सांसद धनबहादुर बुढाले डोल्पाली मतदाताको विश्वास र मायालाई कहिल्यै निराश नबनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

नवनिर्वाचित सांसद बुढाले सम्पूर्ण डोल्पाली दाजुभाइ, दिदीबहिनी, बुबाआमा आफूका लागि भगवान् सरह भएको भन्दै उनीहरूको विश्वास, माया र आशीर्वादले आफूलाई चार–चार पटक निर्वाचनमा विजय दिलाएको बताए। उनले २०७०, २०७४, २०७९ र हालै २०८२ फागुन २१ गते सम्पन्न निर्वाचनमा निरन्तर प्राप्त समर्थनप्रति कृतज्ञता व्यक्त गर्दै जनताको विश्वासमा कहिल्यै आँच आउन नदिने दृढता व्यक्त गरे।

“हिजोका दिनमा पनि जनताको शिर निहुराउने काम गरेको छैन, अबका दिनमा पनि त्यस्तो हुन दिने छैन,” उनले भने, “जनताप्रति समर्पित भएर इमान्दारीपूर्वक काम गर्ने मेरो प्रतिबद्धता छ।”

विषम परिस्थितिमा सम्पन्न निर्वाचनमा आफूलाई विजय दिलाउन महत्वपूर्ण भूमिका खेल्ने नेता तथा कार्यकर्ता, समर्थक र शुभेच्छुकहरूप्रति उनले धन्यवाद तथा आभार प्रकट गरे।

नवनिर्वाचित सांसद बुढाले विशेष कार्यक्रमका बीच जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत चन्द्रदेव भारतीबाट विजयको प्रमाणपत्र ग्रहण गरेका थिए।

प्रमाणपत्र ग्रहण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जुनु ढकाल हमाल, नेकपाका जिल्ला स्तरका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

त्यसपछि नेकपा जिल्ला पार्टी कार्यालयमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा पार्टी संयोजक धर्मजित बोहोराले अविर–टीका र सम्मानपत्रसहित बुढालाई बधाई ज्ञापन गरेका थिए।

कार्यक्रममा कर्णाली प्रदेश सांसद वीरबहादुर शाही लगायतका नेता तथा कार्यकर्ताले अविर–टीका र राइका लगाएर बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
तपाईको प्रतिक्रिया