डोल्पा।
नेपाल लाइफ इन्स्योरेन्स डोल्पा उपशाखाको आयोजनामा अभिकर्ता पुनर्ताजगी तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नयाँ अभिकर्तालाई बीमा सम्बन्धी ज्ञान प्रदान गर्ने तथा कार्यरत अभिकर्तालाई पुनःताजगी गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
शनिबार सदरमुकाम दुनैस्थित जिल्ला समन्वय समिति डोल्पाको सभा हलमा आयोजित कार्यक्रममा जिल्लाभरका अभिकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका कर्णाली प्रदेश प्रमुख अनन्त अधिकारीले बीमाको महत्व, प्रकार, प्रक्रिया, भुक्तानी प्रणाली तथा सम्बन्धित ऐन–कानुनबारे विस्तृत जानकारी दिएका थिए।
नेपाल लाइफ इन्स्योरेन्स डोल्पा उपशाखा प्रमुख पदम बहादुर शाहीका अनुसार जिल्लामा करिब २ सय अभिकर्ता सक्रिय छन्। उनले जिल्लामै व्यवस्थित रूपमा सेवा प्रवाह भइरहेका कारण कम्पनीप्रति विश्वास बढ्दै गएको बताए। जीवन अमूल्य भएकाले बीमाले बचतसँगै सुरक्षा प्रदान गर्ने भन्दै उनले सबैलाई बीमाबारे सचेत गराउन अभिकर्ताहरूलाई आग्रह गरेका छन्।

डोल्पा न्यूज । ७ चैत्र २०८२, शनिबार १७:५०