विष्णुप्रसाद देवकोटा
हिमाली जिल्ला डोल्पामा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक सामग्री आइतबार ढुवानी गरिएको छ। नेपाली सेनाको स्काई ट्रकमार्फत सामग्री जिल्लामा पुर्याइएको निर्वाचन अधिकृत कृष्णबहादुर रावतले जानकारी दिएका छन्।
स्काई ट्रकबाट सुरक्षा सिल, मसीका मार्कर, स्वस्तिक छाप, स्टिकर तथा रंगिन मतदाता नामावली लगायत सामग्री ल्याइएको हो।मतपेटिका भने जिल्लामै मौज्दात रहेको जनाइएको छ।
एक मात्रै निर्वाचन क्षेत्र रहेको डोल्पामा ११ हजार ९ सय २८ पुरुष र १२ हजार १ सय ८७ महिला गरी कुल २४ हजार १ सय १५ मतदाता रहेका छन्। जिल्लाभर दुई अस्थायी सहित ७० मतदान केन्द्र कायम गरिएको छ भने निर्वाचन सम्पन्न गर्न ४ सय १४ कर्मचारी परिचालन गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

डोल्पा न्यूज । १० फाल्गुन २०८२, आईतवार १३:२३