ताजा समाचार

डाेल्पा त्रिपुरासुन्दरी नगरप्रमुखका छोरा नै नेकपामा प्रवेश:एमालेमा तरंग  

हिमाली जिल्ला डोल्पा अन्तर्गत त्रिपुरासुन्दरी नगरपालिका का नगरप्रमुख जनचन्द्र रोकायाका छाेरा नै नेकपामा प्रवेश गरेका छन ।कान्छा छोरा प्रशान्त रोकाया नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेपछि स्थानीय राजनीति चुनावको मुखमै तरंगित बनेको छ। २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट निर्वाचित नगरप्रमुखकै घरभित्रबाट यस्तो राजनीतिक मोड देखिनु केवल पारिवारिक निर्णय मात्र नभई संगठनात्मक सन्देशका रूपमा व्याख्या हुन थालेको छ।

नेकपाले सार्वजनिक गरेको विवरणअनुसार प्रशान्त रोकाया र सोही गाउँका विष्णु रोकाया शुक्रबार बिहान नेकपामा औपचारिक रूपमा प्रवेश गरेका हुन्। सदरमुकाम दुनैमा आयोजित कार्यक्रममा नेकपाका उम्मेदवार तथा पूर्व मन्त्री धनबहादुर बुढाले खादा र अबिर लगाएर स्वागत गरेका थिए।

निर्वाचित जनप्रतिनिधिको आफ्नै छोरा प्रतिस्पर्धी धारमा उभिनु सामान्य राजनीतिक घटना होइन। विशेषतः निर्वाचन नजिकिँदै गर्दा यस्तो प्रवेशले एमाले संगठनभित्रको आन्तरिक सन्तुलन, असन्तुष्टि र नेतृत्व–कार्यकर्ता सम्बन्धबारे प्रश्न उठाएको छ। केही समयअघि मात्रै नगरप्रमुखका सहोदर दुई भाइले पनि नेकपामा प्रवेश गरेको पृष्ठभूमिमा यो घटनाले अझ गहिरो अर्थ बोकेको विश्लेषण हुन थालेको छ।

यस विषयमा प्रतिक्रिया दिँदै नगरप्रमुख रोकायाले पैसा र योजनाको प्रलोभन देखाएर प्रवेश गराइएको जानकारी आफूलाई आएको बताएका छन्। “छोरालाई बोलाएको छु, के कारणले प्रवेश गरेको हो, वास्तविकता सार्वजनिक गर्छु,” उनले प्रतिक्रिया दिए।

तर राजनीतिक वृत्तमा उठेको मूल प्रश्न फरक छ—यदि नेतृत्वकै परिवारभित्र असन्तुष्टि छ भने त्यसले पार्टी संगठनको जरा कत्तिको बलियो छ भन्ने संकेत गर्छ? स्थानीय तहमा निर्वाचित नेतृत्वको घरबाटै वैकल्पिक शक्ति रोजिनु केवल व्यक्तिगत छनोट मात्र हो कि संगठनप्रतिको विश्वासमा आएको दरार?

त्रिपुरासुन्दरीमा पछिल्लो समय देखिएको पार्टी फेरबदलको श्रृंखलाले चुनावी समीकरणलाई जटिल बनाइरहेको छ। एमालेबाट निर्वाचित नेतृत्वकै नजिकका व्यक्तिहरू प्रतिस्पर्धी धारमा देखिनु संगठनात्मक एकताको चुनौतीका रूपमा हेरिएको छ।

निर्वाचनको संघारमा उभिएको त्रिपुरासुन्दरीको यो घटनाले अबको चुनाव केवल मतको प्रतिस्पर्धा मात्र नभई संगठनको विश्वसनीयता र नेतृत्वको आन्तरिक पकडको पनि परीक्षा बन्ने संकेत दिएको छ।

तपाईको प्रतिक्रिया