ताजा समाचार

डाेल्पाकाे बालात्रिपुरासुन्दरी मन्दिरमा शान्तिकाे कामनासहित  लाखबत्ती प्रज्वलन

विष्णुप्रसाद देवकाेटा

डोल्पाको प्रसिद्ध धार्मिक स्थल श्री बालात्रिपुरासुन्दरी भगवती मन्दिरमा जारी देवी भागवत महापुराण नवाह महायज्ञ समापनको अघिल्लो दिन भव्य रूपमा लाखबत्ती प्रज्वलन गरिएको छ। गाउँबासी, जिल्लावासी तथा देशभरका श्रद्धालुहरूको उपस्थितिमा राष्ट्रमा शान्ति, समृद्धि र सद्भाव कायम रहोस् भन्ने कामनासहित विशेष पूजाआराधना सम्पन्न गरिएको हो।

मन्दिरका मुख्य पुजारी टंकप्रसाद उपाध्यायसहित न्यौपाने परिवारको आयोजनामा सम्पन्न उक्त धार्मिक अनुष्ठानमा सयौं भक्तजनहरूको बाक्लो उपस्थिति रहेको थियो। लाखबत्ती दर्शनका लागि श्रद्धालुहरू बिहानैदेखि मन्दिर परिसरमा उपस्थित भई भक्ति भाव प्रकट गरेका थिए।

महायज्ञ आयोजकमध्येका जयन्द उपाध्यायले देशले असल मार्ग अवलम्बन गरोस्, शान्ति र सदाचारको वातावरण फैलियोस् भन्ने उद्देश्यका साथ लाखबत्ती प्रज्वलन गरिएको बताए। साथै, मन्दिर पूजा–पाठका क्रममा जानअन्जानमा भएका त्रुटिहरूका लागि क्षमायाचना स्वरूप पनि उक्त दीप प्रज्वलन गरिएको उनको भनाइ थियो।

धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित यस मन्दिरमा आयोजना गरिएको नवाह महायज्ञले स्थानीयस्तरमा धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै सामाजिक एकता सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया