ताजा समाचार
एउटै क्षेत्र, छ उम्मेदवार—परिवारिक आमनेसामने,

डोल्पामा चियापसलदेखि चौतारोसम्म एउटै बहस :कसले मार्ला बाजी?

विष्णुप्रसाद देवकोटा

फागुन २१ नजिकिँदै जाँदा हिमाली जिल्ला डोल्पाको चुनावी माहोल केवल सभामञ्च र नारामा सीमित छैन। चियापसलदेखि सार्वजनिक चौतारा–विसौनी र भातभान्सासम्म एउटै प्रश्न गुञ्जिरहेको छ कसले जित्ला, कसले हार्ला?

मुख्य प्रतिस्पर्धी दलहरू नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीचको आक्रामक प्रचार–प्रसारले चुनावलाई चरम बिन्दुमा पुर्‍याएको छ। सभाहरूमा तीखा आरोप–प्रत्यारोप, सामाजिक सञ्जालमा आक्रामक उपस्थिती र गाउँ–गाउँमा शक्ति प्रदर्शनले प्रतिस्पर्धालाई झनै पेचिलो बनाएको छ।

चुनावी मैदानमा उम्मेदवारहरूले अपनाएको ‘दल परित्याग र प्रवेश’ नीति ले भने माहोललाई थप अन्योलपूर्ण बनाएको छ। कुनै कार्यकर्ता बिहान एउटा पार्टी प्रवेश गरेको घोषणा गर्छ, साँझसम्म पुरानै ‘घर’ फर्किएको खबर सार्वजनिक हुन्छ। एकाध घण्टा नबित्दै पुनः पुरानै पार्टीमा फर्किने परिदृश्यले मतदातामाझ प्रश्न उठेको छ,यो निष्ठाको राजनीति हो कि अवसरको गणित?

दलहरू एक–अर्काबाट प्रभावशाली कार्यकर्ता तान्ने होडमा छन्। तर यसले स्थायी जनमत कति सार्छ र केवल क्षणिक सन्देश कति दिन्छ भन्ने बहस चर्किएको छ। चुनावी अंकगणित कागजमा जति सजिलो देखिए पनि व्यवहारमा मतदाताको मनोविज्ञान कता मोडिन्छ भन्ने स्पष्ट छैन।

विशेषगरी वाम धारको विभाजन, कांग्रेसको पुनरुत्थान प्रयास र एमालेको सांगठनिक दाबी यी तीनै कोणबाट प्रतिस्पर्धा बहुआयामिक बनेको छ। प्रचारको तीव्रता बढेसँगै व्यक्तिगत आरोप, विगतका राजनीतिक यात्रा र विश्वसनीयताको प्रश्न पनि मतदाताको बहसको केन्द्रमा छन्।

एउटामात्र निर्वाचन क्षेत्र रहेको डोल्पामा यसपटकको प्रतिस्पर्धा केवल दलगत सीमामा सीमित छैन; पारिवारिक आमनेसामने, विगतको राजनीतिक विरासत, संगठनात्मक पकड र मत–अंकगणितको जटिल घेराबीच निर्णायक भिडन्त आकार लिँदैछ।

सुरुआतमा नौ जना उम्मेदवार मैदानमा उत्रिए पनि राजनीतिक समायोजन र दल परिवर्तनपछि अहिले छ जना सक्रिय प्रतिस्पर्धामा छन्। घरदैलो अभियान, सामाजिक सञ्जालको आक्रामक उपस्थिती र गाउँ–बस्तीका सघन भेटघाटले चुनावी माहोललाई असाधारण बनाएको छ।

बुढा दाजुभाइ आमनेसामने:विरासतको रक्षा कि एकाधिकारको अन्त्य?

डोल्पाको संसदीय राजनीतिमा लगातार तीन पटक निर्वाचित भइसकेका धनबहादुर बुढा यसपटक चौथोपटक चुनावी मैदानमा छन्।

२०७० मा नेकपा एमाले, २०७४ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी र २०७९ मा नेकपा (एकीकृत समाजवादी) बाट विजयी भएका बुढा यसपटक नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को तारा चिन्ह लिएर मैदानमा छन्।

निरन्तर दल परिवर्तनको पृष्ठभूमिमा उनीमाथि ‘राजनीतिक अवसरवाद’ बनाम ‘रणनीतिक लचकता’ को बहस चर्किएको छ। यसपटक उनको मुख्य चुनौती केवल विपक्षी दल होइन सहोदर दाजु नै हुन्।

उनका दाजु कर्णबहादुर बुढा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका छन्। २०७६ मा कांग्रेस प्रवेश गरेका कर्णबहादुर ०५१ देखि ०६४ सम्म तीनपटक चुनाव लडे पनि दोस्रो स्थानमै सीमित भएका थिए।यसपटक उनी ‘परिवारभित्रको एकाधिकार तोड्ने’ नारा लिएर मैदानमा उत्रिएका छन्।

दाजुभाइबीचको प्रतिस्पर्धाले चुनावलाई केवल राजनीतिक नभई भावनात्मक र रणनीतिक बनाएको छ। शक्ति सन्तुलन, क्षेत्रीय प्रभाव र व्यक्तिगत सम्बन्ध तीनै तहमा यो भिडन्त अर्थपूर्ण बनेको छ।

यस समीकरणमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले)का युवा उम्मेदवार लंकबहादुर रोकाया दाजुभाइ विभाजनबाट लाभ उठाउने रणनीतिमा देखिन्छन्। जिल्ला अध्यक्षसमेत रहेका ३५ वर्षीय रोकायाले “डोल्पाको राजनीति परिवारभित्र सीमित हुन नहुने” धारणा अघि सार्दै सांगठनिक बललाई आफ्नो मुख्य आधार बताएका छन्।

जिल्लामा एमालेका करिब ३ हजारदेखि ३ हजार ५ सय संगठित सदस्य रहेको आँकलन छ। कांग्रेसका करिब १ हजार ६ सय, तत्कालीन माओवादी धारका करिब १ हजार २ सय र एकीकृत समाजवादी समायोजन समूह करिब १ हजार  गरेर अहिलेकाे नेकपाकाे २ हजार बढिकाे हाराहारीमा रहेको विश्लेषण छ।

२०७९ को समानुपातिक मत परिणामले पनि जटिल तस्वीर देखाउँछ।जसअनुसार एमाले : ६ हजार २९४ माओवादी  ४ हजार ७२१ कांग्रेस  ३ हजार ५९१ एकीकृत समाजवादी १ हजार ८२१ थियाे ।

कागजमा वाम मत जोड्दा बलियो देखिए पनि व्यवहारमा वाम एकताको अभाव र उम्मेदवार विश्वसनीयताको प्रश्नले अंकगणितलाई अनिश्चित बनाएको छ।रोकायाले २४ हजार ११५ मतदाता रहेको डोल्पामा करिब १८ हजार मतदाता बहुसंख्यक क्षेत्रका भए पनि विगतमा करिब ६ हजार मतदाता भएको क्षेत्रका उम्मेदवार पटक–पटक निर्वाचित हुँदै आएको प्रसंग उठाउँदै ‘क्षेत्रीय सन्तुलन’ लाई चुनावी मुद्दा बनाएका छन्। यसले परम्परागत प्रभाव क्षेत्रमाथि सीधा प्रश्न उठाएको छ।

कांग्रेसको ऐतिहासिक चुनौती र अवसर

डोल्पामा कांग्रेसले २०४८ सालबाहेक प्रतिनिधि सभा निर्वाचन जित्न सकेको छैन। त्यसबेला कांग्रेसबाट क्याबु बुढा विजयी भएका थिए। त्यसयता कांग्रेस प्रतिस्पर्धी रहे पनि विजयी हुन सकेको छैन।

यसपटक वाम मतको विभाजन, पारिवारिक प्रतिस्पर्धा र परिवर्तनको मनोविज्ञानलाई कांग्रेसले अवसरका रूपमा हेरिरहेको छ। कर्णबहादुर बुढाको उम्मेदवारी कांग्रेसका लागि ‘अन्तिम परीक्षण’ सरह मानिएको छ।

अन्य प्रतिस्पर्धी र समग्र परिदृश्य

यसपटक प्रतिनिधि सभा निर्वाचनमा थप प्रतिस्पर्धीहरू पनि छन् राष्ट्रिय स्वतन्त्र पार्टी बाट देवसिंह ऐडी राष्ट्रिय प्रजातन्त्र पार्टी बाट हरीप्रसाद डाँगी र स्वतन्त्र उम्मेदवार ओमेन्द्र केसी ।

जिल्लामा ११ हजार ९२८ पुरुष र १२ हजार १८७ महिला गरी कुल २४ हजार ११५ मतदाता छन्। दुई अस्थायी सहित ७० मतदान केन्द्र तोकिएका छन् भने ३८७ कर्मचारी परिचालन हुनेछन्।

विरासत जोगिने कि नयाँ शक्ति उदाउने?

डोल्पाको चुनाव यसपटक तीन तहमा लडिँदैछ विरासत बनाम परिवर्तन ,दाजुभाइको विभाजन बनाम संगठनको एकता सांगठनिक शक्ति बनाम चुनावी अंकगणित

परिवारभित्रको शक्ति संघर्ष, वाम धारको विखण्डन, कांग्रेसको पुनरुत्थान प्रयास र एमालेको सांगठनिक दाबी यी सबैको परीक्षण फागुन २१ मा हुनेछ।

डोल्पाको मतपेटिकाले केवल विजेता घोषणा गर्ने छैन यसले जिल्लाको आगामी राजनीतिक दिशा, प्रभाव क्षेत्रको पुनर्संरचना र शक्तिसन्तुलनको नयाँ अध्याय पनि तय गर्नेछ।

तपाईको प्रतिक्रिया