सुर्खेत ।आगामी वर्ष २०८३/८४ को बजेटमा कर्णाली सरकारले कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेको छ । जसका लागि कृषिलाई व्यवसायिकरण गर्न ३३ करोड रुपैयाँ तथा पशुपालन र नश्लसुधार कार्यक्रमका लागि ८ करोड रुपैयाँ छुट्याइएको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री राजीबविक्रम शाहले हिमाली क्षेत्रमा भेडा र च्याङ्ग्रापालनका लागि १२ करोड रुपैयाँ विनियोजन गरिएको बताए । त्यस्तै सुर्खेतमा माछापालनका लागि ४ करोड रुपैयाँ छुट्याइएको छ ।
उनले ‘एक गाउँ, एक फलफूल बगैँचा’ कार्यक्रमका लागि १९ करोड २२ लाख विनियोजन गरिएको जानकारी दिए । त्यस्तै कृषिको आधुनिकीकरणका लागि १ करोड ९६ लाख र ५ हेक्टरभन्दा बढी क्षेत्रमा कृषि गर्ने किसानलाई शतप्रतिशत ब्याज अनुदान दिइने उनले बताए । जसका लागि ७ करोड विनियोजन गरिएको छ ।
शाहले सुर्खेत र मुगुमा कपास खेती गर्न ७ करोड रुपैयाँ छुट्याइएको जानकारी दिए । उनका अनुसार विपन्न नागरिकको जीविकोपार्जन कार्यक्रमका लागि ४ करोड रुपैयाँ विनियोजन गरिएको छ भने युवालक्षित कृषि कार्यक्रमका लागि ९ करोड ६० लाख रुपैयाँ छुट्याइएको छ ।
कर्णालीकाे बजेटमा कृषि र पशुपालनमा जाेड
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । १ असार २०८३, सोमबार १८:२४