विष्णुप्रसाद देवकोटा
डोल्पा — त्रिपुरासुन्दरी नगरपालिका–२ अन्तर्गत मद्दुस्थित त्रिपुरा माध्यमिक विद्यालयमा १० देखि १९ वर्ष उमेर समूहका किशोरीलाई आइरन तथा फोलिक एसिड खुवाउनुका साथै बालबालिकालाई पोषणसम्बन्धी स्वास्थ्य शिक्षा प्रदान गरिएको छ।
विद्यालयमा किशोरीको स्वास्थ्य तथा पोषण अवस्थालाई ध्यानमा राख्दै नियमित कार्यक्रमअन्तर्गत आइरन तथा फोलिक एसिड सेवन गराइएको हो। कार्यक्रममा बालबालिकालाई सन्तुलित आहार, पोषणको महत्व, व्यक्तिगत सरसफाइ तथा स्वस्थ जीवनशैलीका विषयमा समेत स्वास्थ्य शिक्षा दिइएको त्रिपुरासुन्दरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख तुलबहादुर श्रेष्ठले जानकारी दिए।
कार्यक्रमसँगै विद्यालयमा विद्यालय स्वास्थ्य एकाइ समिति समेत गठन गरिएको छ। विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर बोहोराको अध्यक्षतामा कार्यक्रम भएकाे हो।
किशोरावस्थामा हुने रक्तअल्पता न्यूनीकरण, पोषण सुधार तथा स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य शाखाले जनाएको छ। विद्यालयमै स्वास्थ्यसम्बन्धी आधारभूत सेवा र सचेतना पुर्याउँदा विद्यार्थीमा स्वस्थ बानीको विकास हुनुका साथै स्वास्थ्य समस्या समयमै पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नगरपालिकाले स्वास्थ्य तथा पोषणसम्बन्धी यस्ता कार्यक्रमलाई प्रभावकारी बनाउँदै त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गतका अन्य विद्यालयमा समेत क्रमशः सञ्चालन गर्ने जनाएको छ। विद्यालय स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिँदै किशोरी तथा बालबालिकाको स्वास्थ्य र पोषण अवस्थालाई थप सुधार गर्ने लक्ष्य नगरपालिकाले लिएको छ।
डाेल्पाका विद्यालय किशोरीलाई आइरन–फोलिक एसिड, पोषण शिक्षा पनि
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । ५ भाद्र २०८३, शुक्रबार १६:४३