ताजा समाचार
सुरक्षा, सडक, विपद् व्यवस्थापन र नागरिक सेवामा सहकार्य बढाउने सहमति

भेरी करिडोरका समस्या समाधान गर्न तीन जिल्लाको साझा प्रतिबद्धता

रमेश शर्मा (रुकुम पश्चिम )। डोल्पा, जाजरकोट र रुकुम पश्चिम जिल्लाबीच आपसी समन्वय र सहकार्य हुनु पर्नेमा जाेड दिइएको छ ।
शनिबार रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालयमा बसेको संयुक्त सुरक्षा बैठकले उक्त विषयमा जाेड दिएकाे हाे ।विकास निर्माण, विपद् व्यवस्थापन, यातायात सञ्चालन तथा नागरिक सेवासम्बन्धी साझा सरोकारका विषयमा विस्तृत छलफल गर्दै बैठकले विभिन्न निर्णय समेत गरेको छ ।
विशेषगरी भेरी करिडोर अन्तर्गत रुकुम पश्चिमको दामाचौर र मुलातरा क्षेत्रमा वर्षायाममा खोलामा पानीको बहाव बढ्दा सर्वसाधारणले सवारीसाधनमा भोग्दै आएको सास्तीलाई दीर्घकालीन रूपमा समाधान गर्ने विषय प्राथमिकताका साथ उठाइएको बताइएकाे छ । उक्त समस्याको समाधानका लागि आवश्यक समन्वय र व्यवस्थापन गर्ने विषयमा रुकुम पश्चिम र जाजरकोट जिल्लासँग लिखित सहमति भएको डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिइन् ।
जाजरकोटमा रहेको भेरी करिडोर कार्यालयलाई डोल्पाको दुनैमा स्थानान्तरण गर्न आवश्यक पहल गर्ने निर्णय समेत बैठकले गरेको छ । डोल्पासँग प्रत्यक्ष सरोकार राख्ने सडक पूर्वाधार, सुरक्षा व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण तथा नागरिक सेवा प्रवाहका विषयमा तीन जिल्लाबीच निरन्तर सहकार्य र समन्वयलाई मजबुत बनाउने सहमति भएको छ ।

तपाईको प्रतिक्रिया