विष्णुप्रसाद देवकोटा
डोल्पा ।नेपाली कम्युनिष्ट पार्टी (नेकपा) डोल्पा जिल्ला समितिले जिल्लाको सडक, सुशासन, शिक्षा, विपद् व्यवस्थापन, विकास निर्माण, महँगी नियन्त्रण तथा उत्तरी सीमा व्यापार लगायत समसामयिक विषयमा नौ बुँदे प्रस्ताव पारित गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
साउन ५ गते दुनैमा बसेको जिल्ला समितिको बैठकले पारित गरेका प्रस्ताव सार्वजनिक गर्दै पार्टीले डोल्पाको मुख्य यातायात माध्यम सडक भएकाले चर्को र मनपरी भाडादर तत्काल नियन्त्रण गर्न माग गरेको छ। साथै, भेरी करिडोर सहित जिल्लाका सडक तथा पुल आयोजनामा भइरहेको ढिलासुस्ती अन्त्य गरी निर्माण कार्य तीव्र बनाउन र भेरी करिडोर आयोजना कार्यालय अविलम्ब डोल्पामै स्थापना गर्न सरकार सँग जोडदार माग गरेको छ।
बैठकले हालैका बाढीपहिरोबाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै पीडितलाई तत्काल राहत, क्षतिपूर्ति र पुनर्स्थापनाको व्यवस्था गर्न माग गरेको छ। वर्षायाममा सम्भावित विपद्प्रति सतर्क रहन तथा आवश्यक पर्दा उद्धार र राहतमा परिचालित हुन पार्टी पंक्तिलाई पनि निर्देशन दिएको छ।
यसैगरी, यस वर्षको एसईई परीक्षाको नतिजाले जिल्लाको शैक्षिक अवस्था सुधारको आवश्यकता उजागर गरेको उल्लेख गर्दै गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सम्बन्धित निकायले प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिएको छ।
नेकपाले विकास निर्माणमा अनियमितता र भ्रष्टाचारसम्बन्धी बढ्दो गुनासाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नियमित अनुगमन, प्रभावकारी निरीक्षण तथा वास्तविक कार्यसम्पादन मूल्याङ्कनपछि मात्र भुक्तानी गर्ने व्यवस्था कडाइका साथ लागू गर्न माग गरेको छ।
स्थानीय तहमा बेरुजु रकम निरन्तर बढ्दै जानु वित्तीय अनुशासन र सुशासनका लागि चिन्ताजनक भएको उल्लेख गर्दै स्थानीय तह, जनप्रतिनिधि तथा राजनीतिक दलहरूलाई जिम्मेवार बन्न आग्रह गरिएको छ।
बैठकले जिल्लामा कालाबजारी, कृत्रिम अभाव र महँगी नियन्त्रण गरी सर्वसुलभ तथा गुणस्तरीय उपभोग्य वस्तुको उपलब्धता सुनिश्चित गर्न सम्बन्धित निकाय र व्यवसायी समुदायसँग आग्रह गरेको छ।
त्यस्तै, चालु आर्थिक वर्षका योजना तथा कार्यक्रम समयमै कार्यान्वयन गर्न, ठेक्का प्रक्रिया छिटो सम्पन्न गर्न तथा उपभोक्ता समितिमार्फत सञ्चालन हुने योजना निर्धारित समयमै सम्पन्न गर्ने वातावरण बनाउन माग गरिएको छ। आर्थिक वर्षको अन्त्यमा बजेट फ्रिज गर्ने, हतार–हतार रकमान्तर गरी कोटेशन वितरण गर्ने तथा कमिशनका आधारमा सार्वजनिक स्रोतको दुरुपयोग गर्ने प्रवृत्ति तत्काल रोक्न सम्बन्धित निकायलाई चेतावनीसमेत दिइएको छ।
बैठकले लागुऔषध ओसारपसार, दुव्र्यसन तथा सामाजिक सद्भाव बिगार्ने गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायको भूमिका प्रभावकारी बनाउन माग गरेको छ। साथै, क्याटो र मरिम नाकाबाट सञ्चालन हुने उत्तरी सीमाव्यापारका लागि भरपर्दो शान्ति सुरक्षा व्यवस्था गर्न पनि आग्रह गरिएको छ।
जलवायु परिवर्तनको बढ्दो प्रभावलाई दृष्टिगत गर्दै वन, गैरकाष्ठ वन पैदावार तथा प्राकृतिक स्रोत–सम्पदाको संरक्षण, संवर्द्धन, दिगो व्यवस्थापन र सदुपयोगका लागि सम्बन्धित सबै निकायले प्रभावकारी पहल गर्नुपर्नेमा पनि बैठकले जोड दिएको छ।
पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख प्रेमबहादुर बोहराले बैठकबाट पारित यी प्रस्ताव कार्यान्वयनका लागि सम्बन्धित सबै निकायलाई गम्भीर बन्न आग्रह गरेका छन्।
भेरी करिडोर डोल्पामै राख्न नेकपाको अल्टिमेटम:भ्रष्टाचार,महँगी र बेथितिविरुद्ध गर्जन
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । १४ श्रावण २०८३, बिहीबार १४:४४