ताजा समाचार

डाेल्पामा मोटरसाइकल दुर्घटना : ग्यारेज सञ्चालकसहित दुई जना घाइते

डोल्पा ।डोल्पाको ठूलीभेरी नगरपालिका–९ खारखोलीमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका छन्। दुर्घटनापछि प्रहरीले तत्काल उद्धार गरी दुवैलाई जिल्ला अस्पताल दुनै पुर्‍याएपछि उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी पदम रावलका अनुसार सोमबार राति करिब ८ः३० बजे सदरमुकाम दुनैबाट त्रिपुराकोटतर्फ जाँदै गरेको बा ४५ प ६४८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनामा मोटरसाइकल चालक जुम्ला स्थायी घर भई हाल दुनै बजारमा मोटरसाइकल ग्यारेज सञ्चालन गर्दै आएका २६ वर्षीय सर्जन विक र पछाडि सवार ठूलीभेरी नगरपालिका–९ मोतिपुर निवासी २८ वर्षीय गोपाल नेपाली घाइते भएका छन्।
प्रहरीले घटनास्थलबाट तत्काल उद्धार गरी दुवैलाई जिल्ला अस्पताल दुनैमा उपचारका लागि पठाएको जनाएको छ। अस्पताल स्रोतका अनुसार उनीहरूको उपचार भइरहेको छ भने अवस्था निगरानीमा राखिएको छ।
प्रहरीले दुर्घटनाको कारण खुल्न बाँकी रहेको जनाउँदै घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया