विष्णुप्रसाद देवकोटा
डोल्पा । ठुलीभेरी नगरपालिका–७ र ८ मा पर्ने जुफालमा खुला भलिबल तथा ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। जुफालको प्रमुख धार्मिक पर्व भाद्र पूर्णिमाको अवसर पारेर जुफाल युवा क्लबले आयोजना गरेको प्रतियोगितामा भलिबलतर्फ प्रथम हुने टोलीले १ लाख २१ हजार १ सय २१ रुपैयाँ पुरस्कार पाउनेछ।
शनिबार आयोजित उद्घाटन समारोहसँगै ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। मौसम प्रतिकूलताका कारण निर्धारित समयमा प्रतियोगिता सुरु हुन नसके पनि उद्घाटनपछि ब्याडमिन्टनका खेल अघि बढाइएको र आइतबारदेखि भलिबल प्रतियोगिता नियमित सञ्चालन हुने ठुलीभेरी–८ का वडाध्यक्ष मनराम ठकुल्लाले जानकारी दिए।
प्रतियोगितामा खुला भलिबलतर्फ १३ टोली र ब्याडमिन्टनतर्फ २० टोली सहभागी छन्।
भलिबलतर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः १ लाख २१ हजार १ सय २१, ७७ हजार ७ सय ७७ र ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउनेछन्।
त्यसैगर, ब्याडमिन्टनतर्फ प्रथमलाई २५ हजार ५ सय ५५, द्वितीयलाई १५ हजार ५ सय ५५ र तृतीयलाई १० हजार ५ सय ५५ रुपैयाँ पुरस्कार राखिएको छ।
क्लब अध्यक्ष प्रचण्डविक्रम शाहीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री शेरबहादुर बुढा, जिल्ला समन्वय समिति डोल्पाका उपप्रमुख तेजेन्द्रबहादुर बुढा, ठुलीभेरी नगरपालिकाका प्रमुख सुवर्णकुमार बुढालगायतको सहभागिता थियो।
डाेल्पाकाे जुफालमा भलिबल–ब्याडमिन्टनको रौनक, विजेतालाई १ लाख २१ हजार
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । ३ आश्विन २०८३, शनिबार २०:१५