ताजा समाचार

डोल्पामा सञ्चार तथा पैरवी कार्यक्रम सम्पन्न,स्वास्थ्य पत्रकारितामा जोड

विष्णुप्रसाद देवकोटा
डोल्पा ।स्वास्थ्य क्षेत्रका नीति, प्राथमिकता तथा कार्यक्रमबारे सञ्चारकर्मीलाई अद्यावधिक जानकारी गराउँने उद्देश्यले स्वास्थ पत्रकारिता तथा पैरवी कार्यक्रम गरिएकाे छ ।

तथ्य, प्रमाण र आधिकारिक स्रोतमा आधारित स्वास्थ्य पत्रकारितालाई प्रवर्द्धन गर्ने उद्देश्यले डोल्पामा स्वास्थ्य प्रवर्द्धन सम्बन्धी सञ्चार तथा पैरवी कार्यक्रम सम्पन्न भएको हाे।
स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतको आयोजना तथा स्वास्थ्य सेवा कार्यालय डोल्पाको समन्वयमा सदरमुकाम दुनैमा आयोजित कार्यक्रमको अध्यक्षता स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका शाखा अधिकृत लक्ष्मीप्रसाद लामिछानेले गरेका थिए ।

कार्यक्रममा जिल्लाका सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको उद्देश्य स्वास्थ्य क्षेत्रका नीति तथा प्राथमिकताबारे सञ्चारकर्मीलाई स्पष्ट जानकारी गराउनु, तथ्यमा आधारित स्वास्थ्य समाचार सम्प्रेषणलाई प्रोत्साहन गर्नु तथा आमनागरिकसम्म सही, विश्वसनीय र समयमै स्वास्थ्य सूचना पुर्‍याई जनचेतना अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा स्वास्थ्य सूचना सम्प्रेषणमा सञ्चारमाध्यमको भूमिका, स्वास्थ्य पत्रकारितामा आधिकारिक स्रोतको प्रयोग, गलत सूचना तथा अफवाह न्यूनीकरण, स्वास्थ्य प्रवर्द्धनमा सञ्चार र पैरवीको महत्वलगायत विषयमा विस्तृत छलफल गरिएको थियो।
अध्यक्ष तथा स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख लक्ष्मीप्रसाद लामिछानेले स्वास्थ्यसम्बन्धी समाचार तथ्य, प्रमाण र आधिकारिक स्रोतका आधारमा सम्प्रेषण हुनुपर्नेमा जोड दिनुभयो।

उहाँले सञ्चारमाध्यम र स्वास्थ्य निकायबीच प्रभावकारी सहकार्य हुन सके नागरिकसम्म सही सूचना पुग्ने, स्वास्थ्य सेवाप्रतिको विश्वास अभिवृद्धि हुने र जनस्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो।
स्वास्थ्य सेवा कार्यालय डोल्पाका डा. सिजन रावलले सही र समयमै प्रवाह भएको स्वास्थ्य सूचना धेरै अवस्थामा जीवन रक्षाको आधार बन्न सक्ने उल्लेख गर्नुभयो।

सञ्चारमाध्यम स्वास्थ्य सेवाको प्रभावकारी साझेदार भएको बताउँदै उहाँले जनस्वास्थ्य सचेतना विस्तार, स्वास्थ्य सेवामा पहुँच वृद्धि, गलत सूचना नियन्त्रण तथा स्वास्थ्य सेवामा सकारात्मक परिवर्तन ल्याउन जिम्मेवार स्वास्थ्य पत्रकारिताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको धारणा राख्नुभयो।
जिल्ला अस्पताल डोल्पाकी गंगा ओझाले मदिराजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा पार्ने असरबारे प्रस्तुति दिँदै घरेलु उत्पादन हुने रक्सी, जाँड तथा वाइनलगायतका मदिराजन्य पदार्थ कम मात्रामा सेवन गर्दा पनि सुरक्षित नहुने बताउनुभयो।

अत्यधिक मदिरा सेवनले विभिन्न जटिल स्वास्थ्य समस्या निम्त्याउने उल्लेख गर्दै उहाँले स्वास्थ्य र सञ्चारबीच घनिष्ठ सम्बन्ध रहेको धारणा व्यक्त गर्नुभयो। प्रभावकारी सञ्चारमार्फत स्वास्थ्य सन्देशको पहुँच विस्तार हुने, नागरिकको स्वास्थ्य सेवाप्रतिको पहुँच बढ्ने, गलत सूचना नियन्त्रण हुने तथा सही स्वास्थ्य सूचना नै धेरै अवस्थामा जीवन रक्षाको आधार बन्न सक्ने उहाँको भनाइ थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा सहायक प्रमुख जिल्ला अधिकारी रामदत्त चौलागाईंले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सोच, व्यवहार परिवर्तन र सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

तथ्यमा आधारित र जिम्मेवार स्वास्थ्य पत्रकारिताले नागरिकलाई सही सूचना उपलब्ध गराउनुका साथै राज्यका स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन समेत सहयोग पुग्ने उहाँको धारणा थियो।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले स्वास्थ्य सेवा निर्देशनालयले सञ्चालन गरेको कार्यक्रमको उद्देश्य र विषयवस्तु अत्यन्त सान्दर्भिक तथा उपयोगी रहेको प्रतिक्रिया दिएका थिए। यद्यपि आर्थिक वर्षको अन्त्य अर्थात् असार मसान्ततिर मात्रै कार्यक्रम आयोजना गरिएकाले अपेक्षित प्रभाव कम हुन सक्ने उल्लेख गर्दै यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रम वर्षको सुरुवातमै सञ्चालन गरिए अझ प्रभावकारी हुने सुझाव दिएका थिए।

तपाईको प्रतिक्रिया