ताजा समाचार

६८ वर्षमा १६ को जोश:नाच्दै मत माग्दा कर्ण बुढाले तताए डोल्पाको चुनाव माहोल 

विष्णुप्रसाद देवकोटा।

हिमालको काखमा अवस्थित विकट जिल्ला डोल्पा यतिखेर चुनावी सरगर्मीले तातेको छ। बाहिर चिसो हावाको सिरेटाेले जनजीवन कठ्याङ्ग्रिँदो देखिए पनि राजनीतिक मैदानमा भने माहोल असाध्यै गर्मिएको छ। हिउँले छोपिएका डाँडाकाँडा, घुमाउरा गोरेटो, टाढाटाढा छरिएका बस्ती र कठिन भौगोलिक पहुँचका बीच यसपटकको चुनावी अभियानले अनौठो सांस्कृतिक रंग बोकेको छ।

यही परिवेशमा नेपाली कांग्रेसका सह–महामन्त्री तथा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कर्ण बहादुर बुढाले अपनाएको फरक शैलीले चुनावी अभियानलाई नयाँ आयाम दिएको छ। उमेरले ६८ वर्ष नाघिसके पनि ऊर्जा र उत्साहमा कुनै कमी नदेखिने बुढा घरदैलो अभियानका क्रममा मतदातासामु नाच्दै प्रस्तुत भइरहेका छन्। कम्मर मर्काउँदै, ताल समाउँदै, हिमाली भाकामा पाइला चाल्दै उनी बस्ती–बस्ती पुग्दा चुनावी सभा औपचारिक कार्यक्रमजस्तो नभई सांस्कृतिक रंगमञ्चजस्तो देखिन थालेको छ।

स्थानीयहरू भन्छन्, “उनको नृत्य हेर्दा उमेर बिर्सिन्छ, जोश देख्दा युवाजस्तै लाग्छ।” दुर्गम बस्तीका वृद्ध आमाबुवादेखि उत्साही युवासम्म उनको प्रस्तुतिमा रमाइरहेका छन्। कठोर चिसोपनका बीच न्यानो मुस्कान र नृत्यले चुनावी अभियानलाई उत्सवमय बनाइदिएको छ।

डोल्पाका हिमाली बस्तीहरूमा चुनाव प्रचार कुनै सहज काम होइन। घण्टौँ पैदल हिँडेर पुग्नुपर्ने गाउँ, चिसो बतास र न्यून पूर्वाधारबीच उम्मेदवारको प्रत्यक्ष उपस्थिति नै ठूलो कुरा मानिन्छ। यही सन्दर्भमा कर्ण बहादुर बुढाले भाषणभन्दा अघि सम्बन्ध गाँस्ने शैली रोजेका छन्। मत माग्ने क्रममा उनी जेष्ठ नागरिकसँग आत्मीय संवाद गर्छन्, युवासँग रोजगारी र अवसरका विषयमा छलफल गर्छन्, महिलासँग विकास र सामाजिक सुरक्षाका एजेण्डा साझा गर्छन्। बीच–बीचमा प्रस्तुत हुने उनका नृत्य–हावभावले कार्यक्रमलाई केवल राजनीतिक सभा होइन, सामुदायिक उत्सवको स्वरूप दिएको छ।

फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा प्रतिस्पर्धा झन् रोचक बन्दै गएको छ। विशेषतः आफ्नै सहोदर भाइ तथा पूर्व मन्त्री धनबहादुर बुढासँगको प्रतिस्पर्धाले यस क्षेत्रको चुनावलाई थप चर्चामा ल्याएको छ। पारिवारिक सम्बन्धभन्दा माथि उठेर विचार र एजेण्डाको प्रतिस्पर्धा भइरहेका बेला कर्ण बुढाले सांस्कृतिक प्रस्तुतीमार्फत मतदाताको मन जित्ने रणनीति लिएका छन्।

स्थानीय विश्लेषकहरूका अनुसार उनको शैली केवल मनोरञ्जन मात्र होइन, सन्देश पनि हो। “नाच्नु भनेको रमाइलो गर्नु मात्र होइन, जनतासँग दूरी घटाउनु हो,” एक स्थानीय बुद्धिजीवीको भनाइ छ। हिमाली दुर्गमतामा नेताको प्रत्यक्ष उपस्थिति र आत्मीयता नै विश्वासको आधार बन्ने गरेको अनुभव यहाँका मतदातासँग छ।

यसपटकको चुनावी वातावरण अर्को कारणले पनि सकारात्मक देखिएको छ। विगतका वर्षहरूमा भएका चुनावी प्रचारप्रसार तडकभडक र कहिलेकाहीँ हिंसात्मक झडपतर्फ उन्मुख हुने गरेका थिए, जसको छायाँ अझै पनि मतदाता र उम्मेदवारहरूको मानसपटलमा ताजै छ। तर यसपटक दलहरूबीच कुनै उल्लेखनीय झडप वा उत्तेजनात्मक गतिविधि देखिएको छैन। राजनीतिक प्रतिस्पर्धा सभ्य र शान्तिपूर्ण रूपमा अघि बढिरहेको छ, जसलाई लोकतान्त्रिक अभ्यासको सकारात्मक संकेतका रूपमा हेरिएको छ।

समयको माग र बदलिँदो चेतनासँगै चुनावी शैली पनि फेरिँदै गएको देखिन्छ। भाषण, नाराबाजी र शक्ति प्रदर्शनभन्दा पर नाचगान, बाजागाजा र प्रतिबद्धतासहित उम्मेदवारहरू गाउँबस्तीमा पुगिरहेका छन्। यसले चुनावी माहोललाई तातेको मात्र छैन, लोकतन्त्रलाई स्थानीय संस्कृतिसँग जोड्ने अवसर पनि दिएको छ।

हिमाली चिसोपनबीच तातिएको यो चुनावी वातावरणमा कर्ण बहादुर बुढाको नृत्य र आत्मीय शैली चर्चाको केन्द्र बनेको छ। दुर्गमता, चिसो परिवेश र कठिन जीवनयापनबीच जनतासँग प्रत्यक्ष सम्बन्ध गाँस्ने उनको प्रयासले कत्तिको मतपरिणाममा रूपान्तरण हुन्छ, त्यो भने मतदानपछिको नतिजाले स्पष्ट पार्नेछ। तर यति भने निश्चित देखिन्छ ।यसपटक डोल्पाको चुनाव केवल मतको गणित मात्र होइन, शैली र सन्देशको प्रतिस्पर्धा पनि बनेको छ।

तपाईको प्रतिक्रिया