ताजा समाचार

बौद्ध आस्थाको भव्य संगम बन्दै डाेल्पाकाे कु गाउँमा जारी आठदिने दुग्त्सी मेन्द्रुप पूजा 

विष्णुप्रसाद देवकोटा
डोल्पा । शे–फोक्सुन्डो गाउँपालिका–७ कु गाउँमा दुग्त्सी मेन्द्रुप पूजा सुरु भएको छ। आठ दिन सम्म लगाइने याे पुजालई अमृत औषधि सिद्धिकमे रुपमा बुझिन्छ ।
तिब्बती पात्रोअनुसार सातौँ महिनाको ८ गते देखि १५ गतेसम्म याे पूजा हुने गर्छ ।याे पुजामा कु गाउँका स्थानीयसहित डोल्पाका विभिन्न क्षेत्रबाट श्रद्धालु भक्तजनको उल्लेख्य सहभागिता रहने गरेकाे छ। दोर्जे फुर्बा मण्डलमा आधारित उक्त धार्मिक अनुष्ठान परमपूज्य कोमाङ चोक्ट्रुल दोर्जे छेवाङ रिन्पोछे र गेलोङ धार्केको नेतृत्वमा सम्पन्न हुने आयोजकले जनाएको छ।
डोल्पाली बौद्ध धर्मावलम्बी समुदायका श्रद्धेय आध्यात्मिक गुरुका रूपमा परिचित कोमाङ चोक्ट्रुल दोर्जे छेवाङ रिन्पोछेको नेतृत्वमा हुने पूजालाई स्थानीयले धार्मिक आस्था, आध्यात्मिक साधना र सांस्कृतिक निरन्तरताको महत्वपूर्ण अवसरका रूपमा लिइने गरिएको छ ।
कु गाउँका वडा अध्यक्ष पेम्म छिरिङ गुरुङका अनुसार पूजाको मूल उद्देश्य सर्वसाधारणको सुख, शान्ति, दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्नुका साथै बौद्ध धर्म, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्नु रहेकाे छ।
विभिन्न स्थानबाट आएका लामा गुरु, भिक्षु–भिक्षुणी, जनप्रतिनिधि, स्थानीय बासिन्दा तथा श्रद्धालु भक्तजनहरुकाे पुजा समारोहमा सहभागीता रहेकाे छ । धार्मिक अनुष्ठानसँगै यसले डोल्पाको मौलिक बौद्ध संस्कृति र परम्पराप्रति नयाँ पुस्ताको आस्था र आकर्षण बढाउने विश्वास स्थानीयको छ।
दुग्त्सी मेन्द्रुप पूजालाई केवल धार्मिक अनुष्ठानमा मात्र सीमित नभई डोल्पाको हिमाली बौद्ध सभ्यता, सांस्कृतिक पहिचान र सामुदायिक एकताको जीवन्त प्रतिबिम्बकाे रुपमा लिइन्छ ।

तपाईको प्रतिक्रिया