विष्णुप्रसाद देवकोटा
डोल्पा । ठूलीभेरी नगरपालिका–७ र ८ मा स्थायी बसोबास गर्दै समाज तथा राष्ट्रसेवाका विभिन्न क्षेत्रमा योगदान पुर्याएका १० जना व्यक्तित्व सम्मानित भएका छन्।
मार्क्सवादी अध्ययन प्रतिष्ठान नेपाल र ठूलीभेरी नगरपालिका–७ को संयुक्त आयोजनामा वडा कार्यालयमा आयोजित कार्यक्रममा समाजसेवी, पूर्वजनप्रतिनिधि, पूर्वप्रहरी, शिक्षक, स्वास्थ्यकर्मी तथा विभिन्न सरकारी सेवाबाट निवृत्त व्यक्तित्वलाई प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिएको हो।
सम्मानित हुनेमा समाजसेवी नवराज शाही, पूर्वगाविस अध्यक्ष चन्द्रविक्रम शाही, पूर्वप्रहरी गणेशबहादुर शाही, पूर्वशिक्षक धर्मबहादुर शाही र नरसिंह बुढा, पूर्वस्वास्थ्यकर्मी पन्न बुढा, पूर्वबागवानी अधिकृत सम्पती बुढा, पूर्ववनरक्षक भद्रबहादुर शाही, खाद्य गोदाम जुफालका पूर्वकर्मचारी केसरबहादुर शाही र पूर्वकृषि कर्मचारी रमिला भण्डारी छन्।
सम्मानित व्यक्तित्वलाई ठूलीभेरी–७ का वडाध्यक्ष ध्रुवविक्रम शाही र जिल्ला अस्पताल डोल्पाका चिकित्सक डा. नवीन शाहीले नगद सहित प्रमाणपत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए।
सम्मानपछि आफूहरूले समाज र राष्ट्रका लागि गरेको योगदानको कदर भएको भन्दै सम्मानित व्यक्तित्वहरूले खुसी व्यक्त गरेका छन्।
वडाध्यक्ष शाहीले समाजमा योगदान पुर्याउने व्यक्तिको सम्मान गर्नु आफूहरूका लागि खुसीको विषय भएको बताए। “योगदानको सम्मानले व्यक्तिलाई जीवनकै ठूलो खुसी दिन्छ र भावी पुस्ताका लागि सम्झनायोग्य चिनो बन्छ,” उनले भने।
उनले समाजमा भएका योगदानको कदर गर्ने संस्कारले अनुशासित र सभ्य समाज निर्माणसँगै एउटा पुस्ताको ज्ञान, अनुभव र योगदान अर्को पुस्तामा हस्तान्तरण गर्न सहयोग पुग्ने बताए।
ठूलीभेरी–७ वडा कार्यालयले यसअघि आफ्नो नवौँ वार्षिकोत्सवका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने राष्ट्रसेवक कर्मचारी तथा सञ्चारकर्मीलगायतलाई समेत सम्मान गरेको थियो।
कार्यक्रम वडाध्यक्ष ध्रुवविक्रम शाहीको अध्यक्षतामा सम्पन्न भएको हो।
ठुलिभेरी-७ जुफालद्वारा समाजसेवी र पूर्वराष्ट्रसेवकसहित १० जना सम्मानित
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । १७ आश्विन २०८३, शनिबार १७:०५