विष्णुप्रसाद देवकोटा
फागुन २१ नजिकिँदै जाँदा हिमाली जिल्ला डोल्पामा चुनावी सरगर्मी अस्वाभाविक ढंगले बढेको छ। सामान्यतया शान्त देखिने गाउँ–टोलमा यतिबेला दल बदलको लहर चलेको छ। एकअर्काको पार्टीमा प्रवेश गर्ने क्रमले सामाजिक सञ्जाल तातेको छ, तर यो लहर वास्तविक मतपरिणाममा कति रूपान्तरित हुन्छ भन्ने प्रश्न भने अझै अनुत्तरित छ।
विशेषगरी ठूली भेरी नगरपालिका केन्द्रित गतिविधिले चुनावी समीकरणलाई नयाँ मोड दिएको छ। वडा नम्बर ९ निवासी नेकपा एमालेबाट निर्वाचित वडा सदस्य तुलराम डाँगी तथा जिल्ला कमिटी सदस्य हरिचन्द्र डाँगीको नेतृत्वमा करिब १ सय ५० जना एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेकाे नेकपाले जनाएकाे छ ।
त्यसैगरी वडा नम्बर ८ डाँगीबाडाका कृष्ण बुढाको नेतृत्वमा ८ जना र प्रेम डाँगीको नेतृत्वमा थप ९ जना एमाले परित्याग गरी नेकपामा समाहित भएका छन्। वडा नम्बर ९ कै मोतिपुरमा एमाले र नेपाली कांग्रेस दुवै दल परित्याग गरी २५ जना नेकपामा प्रवेश गरेको दाबी गरिएको छ।
नवप्रवेशीहरूलाई औपचारिक कार्यक्रममार्फत स्वागत गर्दै नेकपाका उम्मेदवार तथा पूर्वमन्त्री धन बहादुर बूढा लगायतका नेताहरूले राजनीतिक परिवर्तन, जनमुखी नीति र डोल्पाको समग्र विकासका लागि आफ्नो पार्टी नै सही विकल्प भएको जिकिर गरेका छन्।
दाबी सबैकाे सबैतिर, आकलन जटिल
यतिबेला डोल्पामा प्रतिस्पर्धामा रहेका सबै उम्मेदवारले चुनावी मतपरिणाम आफ्नो पक्षमा आउने दाबी गरिरहेका छन्। प्रत्येक दलले ‘लहर’ आफ्नो पक्षमा रहेको बताइरहेका छन्। तर गाउँ–पिछे र पार्टी–पिछे भइरहेका प्रवेशहरूले परम्परागत मतआधारको हिसाब–किताबलाई जटिल बनाइदिएको छ।
हिजो एउटै झण्डामुनि उभिएका कार्यकर्ता आज फरक रंगको टिका लगाएर सार्वजनिक कार्यक्रममा देखिँदा मतको वास्तविक दिशा कता मोडिन्छ भन्ने अनुमान सहज छैन। प्रवेशको संख्या र भीडले मनोवैज्ञानिक प्रभाव पार्न सक्छ, तर मतदानको दिन मतदाताले कुन चिन्हमा छाप लगाउँछन् भन्ने कुरा अझै खुला प्रश्नकै रूपमा उभिएको छ।
यसैले डोल्पाको चुनावी मैदानमा अहिले दाबीको स्वर चर्को छ, तर परिणामको गणित मौन छ। प्रवेशको लहरले कसको मत बाकस भरिन्छ र कसको आकलन गलत सावित हुन्छ यसको अन्तिम निर्णय भने मतगणनाले नै गर्नेछ।

डोल्पा न्यूज । ७ फाल्गुन २०८२, बिहीबार २२:२३