विष्णुप्रसाद देवकोटा
डोल्पाको काइके गाउँपालिकामा गुम्बातारा–कोलाताचिन–सहरतारा–तुपतारा सडक (३×३.२८ किलोमिटर) निर्माण कार्यको औपचारिक शिलान्यास गरिएको छ।
कर्णाली प्रदेश सरकार, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय, डोल्पाको आयोजनामा सम्पन्न कार्यक्रममा कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेरबहादुर बुढा र काइके गाउँपालिका अध्यक्ष अङ्गत राना मगरले संयुक्त रूपमा ताम्रपत्र अनावरण गर्दै सडक निर्माण कार्यको शिलान्यास गरेका हुन्।
पुर्वाधार विकास कार्यालय डाेल्पाका प्रमुख इन्जिनियर टेक हितानका अनुसार अनुसार सडक निर्माणका लागि १५ करोड ९९ लाख ४४ हजार ४२० रुपैयाँ (भ्याट तथा मूल्य समायोजन बाहेक) लागत अनुमान गरिएको छ।
निर्माण कार्यको ठेक्का रकम ५ करोड ८१ लाख १० हजार ७३९ रुपैयाँ रहेको छ।प्रमुख इन्जिनियर हितानका अनुसार निर्माण कम्पनीसँग २०८३ असोज २० गते सम्झौता गरिएको हो भने २०८६ असोज २० गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माणको जिम्मा किरण/ओम कन्स्ट्रक्सन, बाँकेले पाएको छ।
शिलान्यास कार्यक्रममा मन्त्री बुढाले दुर्गम क्षेत्रमा सडक पूर्वाधार विस्तारले नागरिकको जीवनस्तर सुधार, सेवा प्रवाहमा सहजता तथा आर्थिक गतिविधि विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने बताए। उनले निर्माण कम्पनीलाई गुणस्तरीय र तोकिएको समयभित्र काम सम्पन्न गर्न निर्देशन पनि दिए।
कार्यक्रममा जिल्ला समन्वय समिति डोल्पाका उपप्रमुख तेजेन्द्र बुढा, विभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रतिनिधि, जनप्रतिनिधि तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।
गुम्बातारा–कोलाताचिन–सहरतारा–तुपतारा सडक निर्माण सम्पन्न भएपछि काइके गाउँपालिकाका दुर्गम बस्तीहरू सडक सञ्जालसँग जोडिने, आवागमन सहज हुने तथा स्थानीय आर्थिक तथा सामाजिक विकासले थप गति लिने अपेक्षा गरिएको छ।

डोल्पा न्यूज । ३२ असार २०८३, बिहीबार १७:५२