ताजा समाचार

त्रिपुरासुन्दरीका मेयर उपमेयर भन्छन“कसैकाे कृपाबाट होइन, जनमतबाट जितेका हौँ

विष्णुप्रसाद देवकोटा

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट डोल्पाका उम्मेदवार धनबहादुर बुढाले चुनावी घरदैलो अभियानका क्रममा आफूले त्रिपुरासुन्दरी नगरपालिकाका मेयर र उपमेयरलाई जिताएको दाबी गरेपछि विवाद चुलिएको छ। उक्त अभिव्यक्तिप्रति नगर प्रमुख र उपप्रमुखले संयुक्त प्रेस विज्ञप्ति तथा पत्रकार सम्मेलन मार्फत घोर आपत्ति जनाएका छन्।

बुढाले घरदैलोका क्रममा आफूकै पहल र प्रभावका कारण मेयर जनचन्द्र रोकाया र उपमेयर देवी घर्ती निर्वाचित भएको अभिव्यक्ति दिएका थिए। त्यसप्रति प्रतिक्रिया दिँदै नगर नेतृत्वले आफूहरू कुनै व्यक्ति विशेषको सहयोग वा आशिर्वादबाट नभई नगरवासीको जनमत, विश्वास र पार्टीको सामूहिक योगदानबाट निर्वाचित भएको स्पष्ट पारेका छन्।

“त्रिपुरासुन्दरी नगरपालिका–१ देखि ११ वडासम्मका मतदाताको अमूल्य मतबाट हामी निर्वाचित भएका हौँ, कसैको कृपाबाट होइन,” विज्ञप्तिमा भनिएको छ। पूर्वमन्त्रीसमेत रहिसकेका बुढाले फरक विचार र फरक दलका उम्मेदवारलाई आफूले जिताएको भन्ने सार्वजनिक अभिव्यक्ति दिनु लोकतान्त्रिक मूल्य र मतदाताको स्वाभिमानमाथिको प्रहार भएको उनीहरूको आरोप छ।

निर्वाचनको मुखमा मतदातालाई आकर्षित गर्न भ्रमपूर्ण अभिव्यक्ति दिनु अनुचित रहेको जनाउँदै नगर प्रमुख र उपप्रमुखले नगरबासीलाई कुनै भ्रममा नपर्न आग्रह गरेका छन्। उनीहरूले आफ्नो विवेकअनुसार मन परेको उम्मेदवार र दलको चुनाव चिन्हमा मतदान गर्न अपिल समेत गरेका छन्।

यसाे त  धनबहादुर बुढा २०७०, २०७४ र २०७९ सालमा विभिन्न पार्टीबाट संसदीय निर्वाचन जित्दै आएका नेता हुन्। पटक–पटक पार्टी परिवर्तन गर्दै संसद् यात्रा तय गरेका बुढा यसपटक चौथो जितको लक्ष्यसहित पुनः चुनावी मैदानमा छन्।

यस घटनापछि डोल्पाको चुनावी सरगर्मी झनै तातेको छ भने अभिव्यक्तिको विषयले स्थानीय राजनीतिक वृत्तमा तीव्र बहस सिर्जना गरेको छ।

तपाईको प्रतिक्रिया