
डोल्पा (मुड्केचुला) ।मुड्केचुला गाउँपालिका–६, नर्कुस्थित एउटा सामान्य कच्ची भवन पहिलो नजरमै गोठ जस्तो देखिन्छ। बाहिरी संरचना हेर्दा यहाँ रेडियो स्टेशन सञ्चालन हुन्छ भन्ने कुरा पत्याउनै गाह्रो पर्छ।
तर, यही साधारण देखिने भवनभित्र तल्लो डोल्पाका नागरिकलाई सुसूचित गराउने, चेतना फैलाउने र स्थानीय आवाज गुञ्जाउने ‘मुड्केचुला सामुदायिक रेडियो एफएम’को संसार बस्थ्यो।
माटो र ढुङ्गाबाट निर्माण गरिएको उक्त भवन २०७६ असार १५ गते गाउँपालिकाको आफ्नै लगानीमा स्थापना गरिएको ९३.५ मेगाहर्जको प्रसारण केन्द्र हो।
पालिकाले गरेका गतिविधि, निर्णय, जनचेतनामूलक सन्देश र स्थानीय खबरहरू प्रसारण गर्दै आएको यो रेडियो दुर्गम क्षेत्रका लागि भरपर्दो सूचना माध्यमका रूपमा स्थापित भएको थियो।
तर, विगत सात महिनादेखि यो ‘सूचनाको स्वर’ पूर्ण रूपमा मौन बनेको छ। ट्रान्समिटर जलेर वा अन्य प्राविधिक समस्याका कारण रेडियो बन्द हुँदा मुड्केचुलाबासी सूचना पहुँचबाट वञ्चित बनेका छन्।
एक समय निरन्तर गुञ्जिरहने रेडियो अहिले सुनसान छ—न कुनै समाचार, न कुनै सन्देश।
स्थापनाकालदेखि नै रेडियो सञ्चालनमा सक्रिय मंगला बुढा प्राविधिक तथा समाचार वाचकका रूपमा कार्यरत छिन्।गाउँपालिकाले उनलाई मासिक २८ हजार २१० रुपैयाँ पारिश्रमिक प्रदान गर्दै आएको छ। रेडियो बन्द भए पनि श्रोताहरूबाट “कहिले रेडियो बज्छ?” भन्ने फोनहरू निरन्तर आइरहेको उनी बताउँछिन्। “रेडियो सुन्न बानी परेका स्थानीय बारम्बार सोधिरहनुहुन्छ,” बुढाले भनिन्।

तर, हाल परिसर घेराबार गरिएपछि संरचना सुरक्षित बनेको छ। यद्यपि, भवन जीर्ण हुँदै गएको र आधुनिक प्रसारणका लागि उपयुक्त नभएको देखिन्छ।
‘मेरो अतीत’ र ‘लेकबेशीका भाका’ जस्ता लोकप्रिय कार्यक्रमहरूले स्थानीय श्रोताको मन जितेका थिए। सुख-दुःखका कथा, जनचेतनामूलक सन्देश र स्थानीय आवाज बोकेको रेडियो बन्द भएपछि मुड्केचुलाबासीलाई “केही छुटेझैँ” अनुभूति हुन थालेको छ।
रेडियो पुनः सञ्चालनबारे गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले बिग्रिएको ट्रान्समिटर मर्मतका लागि प्राविधिक बोलाइएको जानकारी दिए। “अबको दुई साताभित्रै रेडियो पुनः गुञ्जिनेछ,” उनले भने।
साथै, जीर्ण भवनको विकल्पस्वरूप नयाँ, व्यवस्थित प्रसारण केन्द्र निर्माण प्रक्रिया अघि बढाउने योजना समेत रहेको उनले स्पष्ट पारे।
स्थानीय सरकारका गतिविधि र जनजीवनका कथा सुनाउँदै आएको रेडियो बन्द हुँदा नागरिक मात्र होइन, सिङ्गो गाउँपालिका नै सूचना अभावको मारमा परेको छ।जिल्लामै पहिलाे रेडियाे एफएम मुड्केचुला हाे जाे स्थानीय सरकारकाे पुर्ण स्वमित्वमा छ । त्यसैले, मुड्केचुला एफएमको पुनः सञ्चालनप्रति स्थानीयवासीको चासो र अपेक्षा दिनानुदिन बढ्दो छ।


डोल्पा न्यूज । १४ बैशाख २०८३, सोमबार १७:४३