ताजा समाचार
त्रिपुरासुन्दरी न्यायिक समितिले आयाेजना गरेकाे तालिम सम्पन्न

मेलमिलाप तालिमबाट सभ्य समाज निर्माणको आधार तयार : जनचन्द्र रोकाया

विष्णुप्रसाद देवकोटा

त्रिपुरासुन्दरी नगरपालिकामा आयोजित पाँच दिने ४८ घण्टे मेलमिलाप तालिमले स्थानीय स्तरमै विवाद समाधान गर्ने आधार तयार पारेको छ।

तालिम समापन कार्यक्रममा नगरप्रमुख जनचन्द्र रोकायाले न्याय सम्पादनसँग जोडिएको यस तालिमलाई अत्यन्त महत्त्वपूर्ण रहेको बताउँदै सहभागीहरूले लगनशीलताका साथ सिकेको ज्ञान व्यवहारमा उतार्ने विश्वास व्यक्त गरे। उनले प्रशिक्षकद्वारा गरिएको मूल्यांकनसमेत सन्तोषजनक रहेको उल्लेख गर्दै सिकेको सीप आफ्नै वडा–समाजमा प्रयोग गरी सभ्य समाज निर्माणमा योगदान पुग्नेमा आशावादी रहेको बताए।

 

कार्यक्रमकी अध्यक्ष तथा उपमेयर देवी घर्तीले “तेरो–मेरो” वा पक्ष–विपक्ष नभनी मेलमिलापको सिद्धान्तमा रहेर गाउँका विवाद समाधान गर्नुपर्नेमा जोड दिइन्।उनले प्रमाणपत्र पाएको आधारमा कानुनी सीमाभन्दा बाहिर नजान सुझाउँदै आगामी बजेटमा प्रत्येक वडाको मेलमिलाप केन्द्रका लागि एक लाख रुपैयाँ विनियोजन गरिने जानकारी दिइन्। साथै सम्बन्धित वडाबाट थप ५० हजार रुपैयाँसम्म बजेट सुनिश्चित गर्न मेलमिलापकर्ताले पहल गर्नुपर्ने बताइन्।

प्रशिक्षक तथा अधिवक्ता ईमान बहादुर सुनारले तालिमका क्रममा मेलमिलापसम्बन्धी कानुनी व्यवस्था, प्रक्रिया र सीमाबारे विस्तृत प्रशिक्षण दिइएको जानकारी दिए। उनले पाँच दिने तालिमबाट आधारभूत ज्ञान प्राप्त भए पनि केही वैधानिक प्रक्रिया अझ बाँकी रहेको उल्लेख गर्दै नगरपालिकाले आवश्यक कार्यविधि निर्माण गरी मेलमिलापकर्तालाई सूचीकृत गर्नुपर्ने बताए।

प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना, मेलमिलापकर्ताको भूमिकाको नियमित समीक्षा तथा आगामी दिनमा स्थानीयस्तरमै प्रशिक्षक तयार गरी प्रशिक्षण सञ्चालन गर्नुपर्ने आवश्यकता उनले औंल्याए।

सहभागीहरु नेत्र बुढा टविन कार्की महिला सहभागीकाे तर्फबाट त्रिपुरासुन्दरी नपा-५ कि हरिदेवी घर्ती,४ वडाकी जयकुमारी बाेहाेरा लगायतले तालिमले व्यवहारिक ज्ञान दिएको उल्लेख गर्दै घरटोलमै झैझगडा, लेनदेन जस्ता साना विवाद समाधान गर्न सकिने आत्मविश्वास बढेको प्रतिक्रिया दिएका छन्। अब साना मुद्दाका लागि सदरमुकाम वा प्रहरी चौकी धाउनुपर्ने अवस्था कम हुने विश्वास उनीहरूले व्यक्त गरे।

समापन कार्यक्रममा सहभागीहरूलाई मेलमिलापकर्ताको प्रमाणपत्र वितरण गरिएको थियो। तालिममा नगरपालिकाका ११ वडाबाट १४ पुरुष र ८ महिला गरी २२ जनाको सहभागिता रहेको थियो। चैत ११ गतेदेखि सुरु भएको तालिम चैत १५ गते सम्पन्न भएको हो।तालिमकाे समापन कार्यक्रममा सहभागीले नाचगान समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया