विष्णुप्रसाद देवकोटा
नेपाली कांग्रेस डोल्पाले प्रतिनिधि सभा निर्वाचनपछिको चुनावी समीक्षा बैठक सम्पन्न गरेकाे छ ।पार्टीको संगठन, चुनावी रणनीति र परिणामबारे आत्मसमिक्षा गरिएकाे बताइएको छ। बैठकले पार्टीका सह–महामन्त्री तथा हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार कर्णबहादुर बुढालाई विशेष धन्यवाद व्यक्त गर्ने निर्णय गरेको छ।
२०८२ फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा माथिल्लो डोल्पामा शान्तिपूर्ण, भयरहित र स्वतन्त्र रूपमा चुनावी प्रचारप्रसारको वातावरण सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै कांग्रेस परिवारले बुढालाई धन्यवाद दिएको हो। यसअघि भएका निर्वाचनहरूमा माथिल्लो डोल्पामा केही व्यक्ति विशेष वा दल बाहेक अन्य दल तथा उम्मेदवारले सहज रूपमा चुनावी प्रचारप्रसार गर्न नसक्ने अवस्था थियाे।झण्डै डेढ दशकदेखि एउटै राजनीतिक प्रभाव कायम रहेको क्षेत्रमा यस पटक सहोदर भाइबीचको राजनीतिक प्रतिस्पर्धापछि चुनावी गतिविधि तुलनात्मक रूपमा खुला र भयरहित भएको देखिएको कांग्रेस नेताहरुकाे भनाई छ।
चुनावी समीक्षा बैठकमा बोल्दै सह–महामन्त्री कर्णबहादुर बुढाले डोल्पाको राजनीति र नेपाली कांग्रेसको संस्थागत विकासका लागि आफू निरन्तर सक्रिय रहने बताएका छन्। उनले पार्टीका नेता तथा कार्यकर्तालाई कुनै पनि परिस्थितिमा विचलित नभई संगठन सुदृढ बनाउन लाग्न आग्रह समेत गरेका छन्।
निर्वाचनमा आफूलाई मतदान गर्ने मतदाताप्रति आभार व्यक्त गर्दै बुढाले आगामी दिनमा आत्मसमिक्षा गर्दै कार्यशैली सुधार गरी लक्ष्य हासिल गर्ने प्रतिबद्धता व्यक्त गरे।यधपी चुनावी प्रचारप्रसारका क्रममा उनले प्रतिद्वन्द्वी उम्मेदवार तथा सहोदर भाइ धनबहादुर बुढाविरुद्ध आक्रामक भाषण गर्दै मतदातालाई आकर्षित गर्ने प्रयास गरेका थिए।
तर चुनावी परिणाममा भने अपेक्षाअनुसार मत प्राप्त गर्न सकेनन् ।विशेषगरी आफ्नै पालिका र भेगबाट अपेक्षितभन्दा कम मत प्राप्त गर्नुलाई डाेल्पाकाे राजनीतिक बृतमा गहिराे रुपमा हेरिएकाे छ ।
यसैबीच नेपाली कांग्रेसले ठूलीभेरी नगरपालिका–२ को वडा सभापतिमा धनबहादुर भण्डारीलाई मनोनित गरेको छ। नेपाली कांग्रेस जिल्ला कार्यसमिति र नगर कार्यसमितिको संयुक्त बैठकले भण्डारीलाई वडा सभापतिमा मनोनयन गर्ने निर्णय गरेको हो।
यसअघि वडा सभापति रहेका मोतिबहादुर रोकाया निर्वाचनको घरदैलो अभियानकै क्रममा नेकपा पार्टीमा प्रवेश गरेपछि उक्त पद रिक्त भएको थियो। सोही रिक्त पदमा भण्डारीलाई जिम्मेवारी दिइएको कांग्रेसले जनाएको छ।
नवनियुक्त वडा सभापति भण्डारीलाई नेपाली कांग्रेसका कार्यवाहक सभापति लबकुमार शाही, पार्टीका सह–महामन्त्री कर्णबहादुर बुढा तथा ठूलीभेरी नगरपालिकाका मेयर सुवर्ण बुढाले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

डोल्पा न्यूज । २७ फाल्गुन २०८२, बुधबार ०६:३४