ताजा समाचार

डाेल्पा भिजेरको पीडा: सडक छैन, सवारी छैन—स्वास्थ्य उपकरण पनि काँधमै

विष्णुप्रसाद देवकोटा
हामी प्रविधि र विकासको युगमा अघि बढिरहेका छौं, तर हिमाली जिल्ला डोल्पाको उपल्लो भेग अझै आधारभूत पूर्वाधारको अभावसँग जुध्न बाध्य छ। शे–फोक्सुण्डो गाउँपालिका–५ भिजेरको एउटा दृश्यले दुर्गम डोल्पाको वास्तविकता फेरि एकपटक उजागर गरेको छ।
सदरमुकाम दुनैबाट भिजेर स्वास्थ्य चौकीका लागि आवश्यक भ्याक्सिन भण्डारण गर्ने फ्रिज चार जना स्थानीयले काँधमा बोकेर कठिन उकालो र साँघुरो गोरेटो बाटो हुँदै गन्तव्यसम्म पुर्‍याएका छन्। सडक सञ्जाल नपुगेका कारण सवारीसाधन सञ्चालन हुन नसक्दा अत्यावश्यक स्वास्थ्य सामग्रीसमेत मानव श्रमकै भरमा ढुवानी गर्नुपर्ने अवस्था कायम छ।
सरकारले दुर्गम क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा विस्तारको प्रतिबद्धता जनाउँदै आए पनि स्वास्थ्य संस्थासम्म उपकरण पुर्‍याउने न्यूनतम पूर्वाधारसमेत नहुँदा स्थानीयले वर्षौंदेखि सास्ती खेपिरहेका छन्।

स्वास्थ्य सामग्री, औषधि तथा उपकरण ढुवानीमा अत्यधिक समय, श्रम र खर्च लाग्ने गरेको शे–फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङछेन गुरुङ बताउँछन्।उनले फ्रिज जस्ताे संबेदनसिल उपकरण मानिसले नै कांधमा बाेकेर लैजादै गरेकाे तस्बिर सार्वजनिक गरेर उपल्लो डाेल्पाबासीकाे जीवनशैलि कत्ति कठिन रहेछ भन्ने यथार्थलाई प्रस्ट्याएका छन ।
भिजेरसम्म फ्रिज मानिसले बोकेर पुर्‍याइएको यो दृश्यले डोल्पाको विकटता केवल तथ्यांकमा सीमित नभई स्थानीयले दैनिक जीवनमा भोगिरहेको कठोर यथार्थलाई उजागर गरेको छ। सडक पहुँच नहुँदा स्वास्थ्य, शिक्षा र अन्य आधारभूत सेवा प्रवाहसमेत चुनौतीपूर्ण बनेको छ।उपल्लो डाेल्पाका पालिकाहरु आन्तरिक सडक सन्जालले जाेडेपनि सदरमुकाम दुनैदेखि भने अझै सडक सन्जालकाे पहुँच पुगेकाे छैन ।
विकासका ठूला योजना र घोषणाबीच पनि भिजेरको यो तस्बिरले एउटा गम्भीर प्रश्न उठाएको छ—दुर्गम बस्तीमा राज्यको पहुँच कहिले पुग्ने?

तपाईको प्रतिक्रिया