ताजा समाचार

डोल्पामा उम्मेदवारको निर्वाचन खर्च सार्वजनिक: कसले कति खर्च गरे?

विष्णुप्रसाद देवकोटा

डोल्पा ।

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरेका विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले आफ्नो निर्वाचन खर्च सार्वजनिक गरेका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारहरूले निर्वाचन खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा पेश गरेका हुन्।

सार्वजनिक विवरणअनुसार नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार तथा नवनिर्वाचित सांसद धनबहादुर बुढाले निर्वाचन अवधिभर १० लाख २ हजार रुपैयाँ खर्च भएको जनाएका छन्। उनले निर्वाचन कार्यालयमा बुझाएको विवरणअनुसार जीप भाडामा ५ लाख, खाना तथा खाजामा १ लाख ९२ हजार, मतदातालाई प्रशिक्षणमा ९१ हजार, नमुना मतपत्र छपाइमा ९४ हजार, मनोयन दर्तामा १० हजार र मतदाता नामावली खरिदमा ३ हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।

यसैगरी नेकपा एमालेका उम्मेदवार लंकबहादुर रोकायाले सबैभन्दा बढी १८ लाख ९९ हजार रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन्। उनले बुझाएको विवरणअनुसार सवारीसाधन (जीप भाडा)मा ६ लाख २० हजार, नमुना मतपत्र, पोस्टर तथा झण्डामा १ लाख ५० हजार, मतदाता नामावली फोटोकपीमा १० हजार, होटल, खाना, नास्ता तथा बासमा ४ लाख, पेट्रोल खर्चमा ५ लाख, मनोयन दर्तामा १० हजार, मतदाता नामावली खरिदमा ३ हजार तथा होटल त्रिपुराकोटमा खाना, नास्ता र लजमा २ लाख ६ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

त्यस्तै स्वतन्त्र उम्मेदवार ओमेन्द्र बहादुर केसीले भने सबैभन्दा कम ३९ हजार रुपैयाँ खर्च भएको जनाएका छन्। उनले बुझाएको विवरणअनुसार मनोयन दर्तामा १० हजार, पेट्रोलमा ४ हजार, पर्चा–पम्पलेट तथा घोषणापत्र छपाइमा १५ हजार र नास्तामा १० हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार विकास बुढाले निर्वाचन अवधिमा ४ लाख ७३ हजार रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन्। विवरणअनुसार जीप भाडामा १ लाख ५० हजार, पेट्रोलमा १ लाख ५० हजार, होटल त्रिपुरासुन्दरीमा खाना, नास्ता तथा लजमा १ लाख, नमुना मतपत्रमा ५ हजार, नामावली फोटोकपीमा ५ हजार, मतदाता नामावली खरिदमा ३ हजार र मनोयन दर्तामा १० हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवसिंह ऐडीले निर्वाचन अवधिभर २ लाख ७४ हजार ९५० रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन्। उनले बुझाएको विवरणअनुसार होटल खानामा १९ हजार ५००, कोठा भाडामा १९ हजार, खाजामा १७ हजार ९५०, नमुना मतपत्र छपाइमा ९० हजार, मतदाता नामावली फोटोकपीमा ६ हजार, मनोयन दर्तामा १० हजार, मतदाता नामावली खरिदमा ३ हजार, सवारीसाधन (जीप भाडा)मा ७४ हजार र पेट्रोलमा ५ हजार रुपैयाँ खर्च भएको उल्लेख छ।

जिल्ला निर्वाचन कार्यालयमा बुझाइएका विवरणअनुसार उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसार, यातायात, खानपान तथा प्रचार सामग्रीमा मुख्य रूपमा खर्च गरेकाे देखिएको छ।

तपाईको प्रतिक्रिया