विष्णुप्रसाद देवकोटा
डोल्पा ।
डोल्पामा भेडा–बाख्रामा देखिएको महामारीको पहिचान गर्न इतिहासमै पहिलोपटक वैज्ञानिक परीक्षणका लागि नमुना प्रदेश र केन्द्रीय प्रयोगशालामा पठाइएको छ। पशु अस्पताल तथा पशु सेवा कार्यालय डोल्पाले यस प्रकारको पहल पहिलोपटक सुरु गरेको हो।
कार्यालयका प्रमुख तथा पशु चिकित्सक डा. साजन रोकायाको सक्रियतामा भेडा–बाख्रामा देखिएको अज्ञात रोगको वास्तविक कारण पहिचान गर्न भेडाको रगत, फोक्सो, कलेजो र पित्तथैलीको नमुना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाइएको थियो।
ठूलीभेरी नगरपालिका–१ थाला गाउँमा फागुनको दोस्रो सातातिर भेडामा अचानक महामारी फैलिएको सूचना प्राप्त हुनासाथ डा. रोकाया र कार्यालयका पशु विकास अधिकृत तिलक खनालको दुई सदस्यीय टोली तत्काल घटनास्थल पुगेको थियो।
टोलीले प्रभावित भेडाको उपचारसँगै रोगको प्रकृति पत्ता लगाउन आवश्यक जैविक नमुना संकलन गरेको थियो।
संकलित नमुना परीक्षणका लागि सुर्खेतस्थित प्रयोगशालामा पठाइएको थियो भने थप परीक्षणका लागि केही नमुना काठमाडौंस्थित केन्द्रीय प्रयोगशालामा समेत पठाइएको कार्यालयले जनाएको छ।
प्रयोगशाला परीक्षणको प्रारम्भिक नतिजाअनुसार भेडामा होमोग्लोबिनसम्बन्धी समस्या देखिएको पुष्टि भएको थियो।
त्यसपछि गरिएको लक्षित उपचार र व्यवस्थापनका कारण महामारी नियन्त्रणमा आएको र थाला गाउँका पशुपालक किसानको समस्या समाधान भएको कार्यालयले जनाएको छ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय डोल्पाका प्रमुख डा. रोकायाका अनुसार डोल्पामा पशु रोगको पहिचानका लागि यसरी वैज्ञानिक परीक्षणका लागि नमुना प्रदेश तथा केन्द्रीय प्रयोगशालामा पठाइएको यो पहिलोपटक हो। उनका अनुसार दुर्गम हिमाली जिल्ला डोल्पामा पशु स्वास्थ्य सेवामा वैज्ञानिक पद्धति प्रयोग गर्ने अभ्यास सुरु हुनु किसानका लागि सकारात्मक संकेत हो।
उनले भविष्यमा पनि यस्ता रोगको समयमै पहिचान र नियन्त्रणका लागि प्रयोगशाला परीक्षणलाई प्राथमिकता दिँदै पशुपालक किसानलाई सुरक्षित र प्रभावकारी सेवा दिने प्रयास जारी रहने बताए।
डोल्पा जस्तो हिमाली जिल्लामा भेडा–बाख्रा पालन किसानको मुख्य जीविकोपार्जनको आधार भएकाले पशु स्वास्थ्य व्यवस्थापनमा यस्तो पहललाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

डोल्पा न्यूज । २७ फाल्गुन २०८२, बुधबार २१:३४