डाेल्पा । डोल्पामा पोषण सुधार अभियानमा सक्रिय योगदान पुर्याउदै आएकी गंगा ओझालाई विशेष सम्मान गरिएको छ।उनलाई सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले दाेसल्ला र प्रमाणपत्रका साथ सम्मान गरेका हुन । उक्त अवसरमा ओझासंगै कर्णाली प्रदेशका सबै जिल्लाका पोषण फोकल पर्सनहरूलाई पनि सम्मान गरिएको आयोजकले जनाएको छ।
राष्ट्रिय पोषण लेखाजोखा अभियान अन्तर्गत डोल्पा जिल्लाले कर्णाली प्रदेशका जिल्लामध्ये उत्कृष्ट प्रगति हासिल गरेपछि डोल्पाको टोली सम्मानित भएको हो।
सम्मान प्राप्तिपछि आयोजक पक्षले डोल्पा जिल्लाका स्वास्थ्य शाखा प्रमुखहरू, स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू तथा स्वास्थ्य सेवा कार्यालय डोल्पाको सम्पूर्ण टोलीप्रति आभार व्यक्त गरेको छ।
राष्ट्रिय पोषण लेखाजोखाबाट प्राप्त तथ्याङ्कको विश्लेषण तथा आगामी कार्ययोजना तयारीका लागि कर्णाली प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा डाेल्पाकी ओझा सम्मानित भएकी हुन । कार्यशालाले प्रदेशको वर्तमान पोषण अवस्थाको समीक्षा गर्दै पोषण क्षेत्रमा गरिएको लगानी, प्राप्त उपलब्धि तथा आगामी रणनीतिक योजनाबारे मार्ग दर्शन तयार गर्ने लक्ष्य राखेको छ।
कर्णाली प्रदेश सरकारका घनश्याम भण्डारीले पोषण कार्यक्रम जनजीविकासँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले यसको प्रभावकारी कार्यान्वयनमा सम्बन्धित सबै निकाय जिम्मेवार र सक्रिय हुनुपर्ने बताए ।
उनले विशेषगरी जनस्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिले पोषण सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै आमा समूह मार्फत पोषणसम्बन्धी सचेतना तथा कार्यक्रमलाई समुदायस्तरसम्म पुर्याउन निर्देशन दिए। साथै, कार्यशालाबाट व्यवहारिक र प्रभावकारी कार्ययोजना निर्माण गर्न आग्रह समेत गरे।
कार्यशालाबाट प्राप्त निष्कर्ष तथा सिफारिसहरूले कर्णाली प्रदेशमा पोषण सुधारका कार्यक्रमलाई थप प्रभावकारी, परिणाममुखी र समुदायमैत्री बनाउन महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।

डोल्पा न्यूज । ९ असार २०८३, मंगलवार १९:४५