डोल्पा । आगामी निर्वाचनलाई स्वच्छ, पारदर्शी र सूचनामैत्री बनाउन मुख्य निर्वाचन अधिकृत तथा माननीय जिल्ला न्यायाधीश चन्द्रदेब भारतीसँग पत्रकार महासंघ डोल्पाको टोलीले भेटघाट तथा छलफल गरेको छ।अनाैपचारिक छलफलमा नेपाल पत्रकार महासंघ डोल्पा अध्यक्ष सरोज थापा, महासंघका संस्थापक अध्यक्ष तथा डोल्पान्युज अनलाइनका प्रधानसम्पादक विष्णु देवकोटा लगायतको उपस्थिति रहेको थियो।अनाैपचारिक छलफल तथा भेटघाटका क्रममा निर्वाचन अवधिभर तथा मतगणनाको समयमा सूचना प्रवाहलाई कसरी अझ सरल, छिटो र व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा विस्तृत संवाद भएको बताइएको छ।
मतगणनाका क्रममा सञ्चारकर्मीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सहज रूपमा सूचना उपलब्ध गराउने, प्रवेशपत्र व्यवस्थापन गर्ने तथा छुट्टै रिपोर्टिङ डेस्क स्थापना गर्ने विषयमा सकारात्मक छलफल भएको थियो। साथै सूचना प्रवाहलाई अझ सहज र सरल बनाउन प्रत्येक गतिविधिको अद्यावधिक विवरण ह्वाट्सएप समूह तथा आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाइने सहमति भएको छ।
मुख्य निर्वाचन अधिकृत भारतीले कानुनले बन्देज लगाएका विषय बाहेक सबै सूचना पारदर्शी रूपमा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे। साथै उनले सञ्चारकर्मीहरूलाई वस्तुनिष्ठ, सत्यतथ्यमा आधारित र जिम्मेवार ढंगले सूचना सम्प्रेषण गर्न आग्रह गरे।भेघाट कार्यक्रममा सहायक निर्वाचन अधिकृत विदुर प्रसाद काेइराला समेतकाे उपस्थिति थियाे ।
उक्त भेटघाटले निर्वाचन प्रक्रियामा पारदर्शिता, विश्वास र सहकार्यको वातावरण अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

डोल्पा न्यूज । १२ फाल्गुन २०८२, मंगलवार १३:०२