विष्णुप्रसाद देवकोटा
डोल्पाको श्री बालात्रिपुरासुन्दरी योगमाया भगवती माता देवी मन्दिर मा धार्मिक आस्था, आध्यात्मिक चेतना र सनातन संस्कृतिको संरक्षण गर्ने उद्देश्यले भव्य देवी भागवत महापुराण नवाह यज्ञ जारी छ।
२०८२ साल चैत ५ गतेदेखि सुरु भएको यज्ञ हाल छैठौं दिनमा पुगेको छ। मन्दिरका मुख्य पुजारी टंकप्रसाद उपाध्यायका अनुसार दैनिक रूपमा मध्याह्न १२ बजेदेखि ३ बजेसम्म यज्ञ सञ्चालन भइरहेको छ।
यज्ञमा प्रमुख वाचकका रूपमा डा. गुरुप्रसाद सुवेदी तथा उपवाचक सोमनाथ कोइराला ले देवी भागवत महापुराणको वाचन तथा व्याख्या गरिरहेका छन्। कार्यक्रममा देवी स्तुति, आरती, मन्त्रजप र आध्यात्मिक प्रवचनले वातावरण भक्तिमय बनेको छ।
“ॐ देवी प्रपन्नार्तिहरे…” मन्त्रको जपसहित सञ्चालन भइरहेको नवाह यज्ञले पाप क्षय, मनोकामना सिद्धि तथा समाजमा शान्ति र सद्भाव वृद्धि हुने धार्मिक विश्वास छ।
नवाह यज्ञ आयोजकमध्येका पुजारी देविकृष्ण उपाध्यायका अनुसार, मन्दिर पूजा व्यवस्थापनलाई सुदृढ बनाउने र पुर्खाबाट भएका त्रुटिप्रति प्रायश्चित गर्दै सन्तानले धर्ममार्गमा अग्रसर हुन प्रेरित गर्ने उद्देश्यले यज्ञ आयोजना गरिएको हो। साथै, चैत नवरात्र अवधिभर मन्दिरमा आउने श्रद्धालुहरूले महापुराण श्रवणमार्फत मोक्ष प्राप्त गर्न सकून् भन्ने लक्ष्य पनि राखिएको उनले बताए।

यज्ञ चैत १३ गते लाखबत्ती प्रज्वलनसहित समापन गरिनेछ भने चैत दशैंको अवसरमा मन्दिरमा विशेष मेला समेत लाग्ने गर्दछ। आयोजकले सम्पूर्ण श्रद्धालु भक्तजनलाई उपस्थित भई धर्मलाभ र पुण्य प्राप्त गर्न आग्रह गरेका छन्।

डोल्पा न्यूज । १० चैत्र २०८२, मंगलवार २०:१७