ताजा समाचार

डोल्पामै पहिलो पटक त्रिपुरासुन्दरी पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषित

विष्णुप्रसाद देवकोटा
डोल्पा — त्रिपुरासुन्दरी नगरपालिकालाई डोल्पा जिल्लामै पहिलो पटक पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको छ।शुक्रबार  आयोजित घोषणा सभामार्फत नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो।
“स्थानीय स्वामित्व र सहभागिता : पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नारासहित आयोजित कार्यक्रममा नगरप्रमुख जनचन्द्र रोकायाको सभाध्यक्षता तथा श्यामबहादुर रोकायाको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजु कुँवरलगायत जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवालाको सहभागिता रहेको थियो।
नगरपालिकाभित्र २३ महिनासम्मका सम्पूर्ण बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार आवश्यक सबै खोप प्राप्त गरेपछि नगरलाई पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको जनस्वास्थ्य निरिक्षक तुलबहादुर श्रेष्ठले बताए ।
कार्यक्रममा नगर क्षेत्रका स्वास्थ्य संस्थामा कार्यरत सबै महिला स्वास्थ्य स्वयंसेविकालाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो।

पूर्ण खोप अभियान सफल बनाउन महिला स्वास्थ्य स्वयंसेविकाले खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ।
जनस्वास्थ्य निरीक्षक तुलबहादुर श्रेष्ठका अनुसार त्रिपुरासुन्दरी नगरपालिका डोल्पा जिल्लामै पूर्ण खोप सुनिश्चितता घोषणा हुने पहिलो पालिका बनेको हो।
कार्यक्रम त्रिपुरासुन्दरी नगरपालिकाको आयोजना तथा नगर कार्यपालिकाको कार्यालय त्रिपुराकोट, डोल्पाको समन्वयमा सम्पन्न भएको हो।

तपाईको प्रतिक्रिया