ताजा समाचार

कृषकका आवश्यकता समेट्दै डोल्पामा कृषि योजना तर्जुमा गाेष्ठि

विष्णुप्रसाद देवकोटा

डोल्पा । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत कार्यक्रम कार्यान्वयन एकाइ डोल्पाको आयोजनामा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ। शुक्रबार सदरमुकाम दुनैमा आयोजित गोष्ठीमा स्याउ जोन र सिमी जोन सञ्चालन भइरहेका क्षेत्रका कृषक तथा जिल्लास्थित विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

आर्थिक वर्ष २०८२/८३ का कार्यक्रमबारे छलफल गर्नुका साथै आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्र र कृषकका आवश्यकता सम्बन्धी सुझाव संकलन गरिएको थियाे । चालु आर्थिक वर्षका कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने तथा नयाँ आर्थिक वर्षमा समावेश गर्नुपर्ने कार्यक्रमबारे सहभागीबीच छलफल गरिएको कार्यक्रम कार्यान्वयन एकाइ डोल्पाका प्रमुख गोविन्दबहादुर मल्लले जानकारी दिए।

चालु आर्थिक वर्षमा स्याउ जोन अन्तर्गत सिंचाइ पूर्वाधार निर्माण तथा मर्मत–सम्भार, स्याउ निर्यातका लागि ढुवानीमा ५० प्रतिशत अनुदान सहयोग, हाई डेन्सिटी स्याउ बिरुवा वितरणमार्फत क्षेत्रफल विस्तार, उन्नत प्रविधि प्रयोग, स्थानीय तहसँग समन्वयमा नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण, स्याउ बगैंचा सुदृढीकरण, जोन तथा सुपरजोन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोग कार्यक्रम सञ्चालन भइरहेको सहभागीहरुलाई जानकारी गराइएको थियाे।

नमुना बगैंचाको घेराबार सहयोग, प्याकेजिङ, लेभलिङ तथा पोस्ट–हार्भेस्ट क्षति न्यूनीकरणका लागि कार्टुन सहयोग कार्यक्रम समेत सञ्चालनमा रहेका छन्।

त्यस्तै दलहन बाली अन्तर्गत सिमी जोन कार्यक्रममा सीड बिन वितरण, सिमी प्याकेजिङ तथा बजारीकरण, उन्नत प्रविधिसहित क्षेत्रफल विस्तार, सिंचाइ पूर्वाधार निर्माण तथा मर्मत सम्भार तथा कृषि यान्त्रीकरण सहयोग कार्यक्रम सञ्चालन भइरहेको कार्यक्रम प्रमुख मल्लले जानकारी दिए।

कार्यक्रममा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्यामबहादुर रोकायाले कृषकका वास्तविक माग र आवश्यकता अनुसार कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनले अनुदान वितरणसँगै त्यसबाट प्राप्त उपलब्धिको तथ्यांक राख्न र अनुदानलाई दीर्घकालीन कृषि व्यवसायसँग जोड्नुपर्ने जाेड दिए ।

तपाईको प्रतिक्रिया