ताजा समाचार

त्रिपुरासुन्दरी नगरपालिकाको १५ औँ नगरसभा सम्पन्न, ५८ करोड ८७ लाखभन्दा बढीको बजेट पारित

डोल्पा, असार १० – डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको १५ औँ नगरसभा तथा १० औँ बजेट अधिवेशन सम्पन्न भएको छ। नगरप्रमुख जनचन्द्र रोकायाको अध्यक्षतामा सम्पन्न नगरसभाले आर्थिक वर्ष २०८३/०८४ का लागि ५८ करोड ८७ लाख ९५ हजार ६ सय ४ रुपैयाँ बराबरको बजेट तथा नीति–कार्यक्रम पारित गरेको छ।
नगरसभाको उद्घाटन कर्णाली प्रदेशकी पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं प्रदेशसभा सदस्य उर्मिला विश्वकर्मा ले ब्यानर उद्घाटन गरी गरेकी थिइन्।
नगरप्रमुख रोकायाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, डिजिटल सेवा प्रवाह, कृषि, सामाजिक सुरक्षा, युवा तथा खेलकुद, विपद् व्यवस्थापन र वातावरण संरक्षणलाई प्रमुख प्राथमिकतामा राखिएको छ। उपप्रमुख देवी घर्तीले बजेट प्रस्तुत गर्दै संघीय तथा प्रदेश सरकारका विभिन्न अनुदान, राजस्व बाँडफाँड, आन्तरिक स्रोत, वैदेशिक अनुदान तथा ऋणमार्फत बजेट व्यवस्थापन गरिएको जानकारी दिइन्।
सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि विश्वकर्माले प्रदेश सरकारले जनजीविकासँग प्रत्यक्ष जोडिएका आवश्यकता आधारित योजना तथा कार्यक्रमलाई प्राथमिकता दिएको बताइन्। विगतका टुक्रे तथा व्यक्तिगत प्रकृतिका योजनामा कटौती गरिएको उल्लेख गर्दै उनले त्रिपुरासुन्दरी नगरपालिकाले समावेशी र सन्तुलित बजेट ल्याएको भन्दै सफल कार्यान्वयनको शुभकामना व्यक्त गरिन्।

नगरसभा जस्तो महत्वपूर्ण कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बाहेक अन्य राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति नदेखिनु दुःखद र चिन्ताजनक भएको उनको भनाइ थियो।
प्रमुख प्रशासकीय अधिकृत राजु कुवाँरले नगरपालिकाको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी र जनमुखी बनाउन जनप्रतिनिधि तथा कर्मचारीबीच समन्वय आवश्यक रहेको बताए। उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै सुशासन, समावेशी विकास र दिगो पूर्वाधार निर्माणमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए। गहन छलफल, वस्तुनिष्ठ विश्लेषण र साझा सहमतिका आधारमा निर्णय कार्यान्वयन गर्नु स्थानीय सरकारको प्रमुख दायित्व रहेको उनको भनाइ थियो।
अध्यक्षीय मन्तव्यमा नगरप्रमुख रोकायाले राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय, समानता र समृद्धिको लक्ष्य हासिल गर्न सक्षम स्थानीय सरकार आवश्यक रहेको बताए। नगरवासीका आवश्यकता र विकासका प्राथमिकतालाई केन्द्रमा राखेर नीति तथा बजेट तर्जुमा गरिएको उल्लेख गर्दै उनले यसको प्रभावकारी कार्यान्वयनमा सबै पक्षको सहयोग अपरिहार्य रहेको बताए।
नगरसभाको अवसरमा नगरपालिका भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने टंकप्रसाद उपाध्याय, कमला हमाल र यज्ञप्रसाद उपाध्यायलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको थियो। यसैगरी सेवाबाट निवृत्त कार्यालय सहयोगी बालबहादुर बोहोरा र लालबहादुर रोकायालाई पनि सम्मान गरिएको थियो।
यद्यपि, नगरभवन निर्माणका प्रमुख जग्गादातामध्ये एक हिमराज हमालले सम्मान ग्रहण गर्न अस्वीकार गरेका छन्। उनले नगरपालिकाले हरेक वर्ष औपचारिक सम्मान गरे पनि अन्य समयमा जग्गादाताहरूको योगदानको उचित कदर नगरेको गुनासो गरे।

नगर भवन निर्माणका लागि जग्गा उपलब्ध गराउँदा व्यक्तिगत तथा पारिवारिक रूपमा विभिन्न समस्या झेल्नुपरेको स्मरण गर्दै उनले मुख्य जग्गादाता स्वर्गीय देवनारायण उपाध्यायको योगदानको सम्मानस्वरूप शालिक निर्माण गर्न माग गरे। भवन निर्माणका क्रममा व्यक्तिगत रूपमा खर्चिएको रकमसमेत हालसम्म भुक्तानी नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। सो क्रममा देविकृष्ण उपाध्याय, हरिचन्द्र हमाल र हेमराज हमालले पनि सम्मान अस्वीकार गरेका थिए।
त्रिपुराकोटस्थित नगरसभाहलमा सम्पन्न नगरसभामा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गर्दै सुझावहरू संकलन गरिएको नगरपालिकाले जनाएको छ। आगामी आर्थिक वर्षमा विकासका लाभको न्यायोचित वितरण, पारदर्शिता, उत्तरदायित्व, नागरिक सहभागिता र समावेशी विकासलाई केन्द्रमा राखेर कार्यक्रम कार्यान्वयन गरिने जनाइएको छ।

तपाईको प्रतिक्रिया