ताजा समाचार

डाेल्पा दुनैको सरस्वती माविमा २० लाखको बालमैत्री शौचालय हस्तान्तरण

विष्णुप्रसाद देवकोटा

डोल्पाको दुनैस्थित सरस्वती माध्यमिक विद्यालयमा २० लाख बढी लागतमा निर्माण गरिएको बालमैत्री तथा अपाङ्गमैत्री पक्की शौचालय औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।

किशोरी सशक्तीकरण परियोजना डोल्पाअन्तर्गत प्लान इन्टरनेशनल जर्मनी, प्लान इन्टरनेशनल नेपाल र समाज जागरण केन्द्र (स्याक)को साझेदारीमा ठुलिभेरी नगरपालिका–३, दुनैस्थित सरस्वती माध्यमिक विद्यालयमा तीन कोठे पक्की शौचालय निर्माण सम्पन्न भएको हो।

२० लाख २८ हजार ८७० रुपैयाँ लागतमा निर्माण गरिएको उक्त संरचना जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाले उद्घाटन गरेपछि विद्यालय व्यवस्थापन समिति अध्यक्ष दशरथ रोकाया र प्रधानाध्यापक सत्यनारायण सिंहलाई हस्तान्तरण गरिएको हो। निर्माण कार्य डोल्पा हिराचन निर्माणमार्फत प्रतिनिधि ओम रोकायाले सम्पन्न गरेका हुन्।

उद्घाटनपछि बोल्दै प्रमुख अतिथि रोकायाले संरचना निर्माणलाई केवल बजेट खर्चका रूपमा नहेर्न आग्रह गर्दै गुणस्तर, दिगोपन र समावेशीतामा जोड दिए। बाह्य स्वरूप मात्रै राम्रो देखिनु पर्याप्त नहुने उल्लेख गर्दै उनले प्राविधिक मापदण्डअनुसार दिगो र सबैका लागि पहुँचयोग्य संरचना निर्माणमा सुरुदेखि नै निगरानी आवश्यक हुने बताए।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष दशरथ रोकायाले ‘अरूले बनाइदिन्छन्’ भन्ने आश्रित मानसिकता अझै समाजमा रहेको उल्लेख गर्दै त्यसमा परिवर्तन आवश्यक रहेको बताए। उनले निर्माणपछि संरचनाको संरक्षण र नियमित अनुगमन अनिवार्य भएको धारणा राखे।

समाज जागरण केन्द्र (स्याक)का परियोजना प्रमुख प्रेमसिंहले संस्थाको उद्देश्य केवल भौतिक संरचना निर्माणमा सीमित नभई किशोरी सशक्तीकरण, सरसफाइ सुधार र विद्यालयलाई वातावरणमैत्री बनाउने रहेको स्पष्ट पारे। प्रभावकारी कार्यान्वयनका लागि समुदाय, विद्यालय र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उनले बताए।

प्रधानाध्यापक सत्यनारायण सिंहले उक्त शौचालय जिल्लामै नमुना संरचनामध्ये एक भएको उल्लेख गर्दै योजना छनोटदेखि निर्माणसम्म सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गरे।

कार्यक्रममा वडा नं. ३ का अध्यक्ष भक्तबहादुर भण्डारी र वडा नं. १ का अध्यक्ष तेजेन्द्र रोकाया समाज जागरण केन्द्रका सामाजिक परिचालक भिमबहादुर बुढा लगायतको उपस्थिति रहेको थियो।

यस शौचालय निर्माणले विद्यालयको सरसफाइ अवस्था सुधार गर्नुका साथै विशेषगरी किशोरीहरूका लागि सुरक्षित, मर्यादित र सहज वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ। यद्यपि सरोकारवालाहरूले संरचना निर्माण मात्र पर्याप्त नहुने उल्लेख गर्दै व्यवहार र सोचमा परिवर्तन आवश्यक रहेकोमा जोड दिए ।

तपाईको प्रतिक्रिया