ताजा समाचार

भारत सरकारको सहयोगमा डोल्पाको कस्तुरी माविमा अत्याधुनिक भवन बन्ने

विष्णुप्रसाद देवकोटा

डोल्पा । शैक्षिक पूर्वाधार सुदृढीकरणतर्फ महत्वपूर्ण कदम चाल्दै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ स्थित कस्तुरी माध्यमिक विद्यालयका लागि अत्याधुनिक भवन निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। त्रिपक्षीय समझदारीसँगै अब विद्यालयले सुविधा सम्पन्न नयाँ संरचना पाउने सुनिश्चितता बढेको हो।

उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजना अन्तर्गत भारत सरकारको सहयोगमा निर्माण हुने उक्त भवनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भारतीय राजदूतावास र त्रिपुरासुन्दरी नगरपालिका बीच चैत १९ गते समझदारीपत्रमा हस्ताक्षर भएको नगर प्रमुख जनचन्द्र रोकायाले जानकारी दिए।

सम्झौतासँगै कुल ३ करोड ४७ लाख २८ हजार ६ सय ६४ रुपैयाँ ९६ पैसा लागत अनुमान स्वीकृत भइसकेको छ। यसअघि नेपाल सरकारले सोही परियोजनाका लागि करिब ३ करोड ४७ लाख रुपैयाँ लागत स्वीकृत गरिसकेको थियो।

नगरपालिकाद्वारा तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार दुई तल्ले अत्याधुनिक भवन निर्माण गरिनेछ। निर्माणमा नेपाल सरकारको मापदण्ड पूर्ण रूपमा लागू गरिने बताइएको छ।

सम्झौता अनुसार कुल लागत वा टेन्डर प्रक्रियाबाट निर्धारण हुने लागतमध्ये जुन कम हुन्छ, त्यसको ९० प्रतिशत रकम अनुदानका रूपमा उपलब्ध गराइनेछ भने बाँकी १० प्रतिशत लागत नगरपालिका आफैंले व्यहोर्नेछ।

समझदारीपत्रमा हस्ताक्षर भएसँगै निर्माण प्रक्रियाको अर्को चरण—टेण्डर आह्वान—तिव्र रूपमा अगाडि बढाइएको नगरपालिकाले जनाएको छ। ठेक्का पाउने निर्माण कम्पनीले १५ महिनाभित्र भवन निर्माण सम्पन्न गरी विद्यालयलाई हस्तान्तरण गर्नुपर्ने व्यवस्था गरिएको छ।

स्थानीय स्तरमा शैक्षिक गुणस्तर सुधार र भौतिक पूर्वाधार अभाव अन्त्य गर्ने लक्ष्यसहित अघि बढाइएको यो परियोजनाले दुर्गम डोल्पामा शिक्षा क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया