ताजा समाचार

वर्षाको प्रवाह नगरी डोल्पामा भदौ पूर्णिमा पर्व उल्लासपुर्ण सम्पन्न

विष्णुप्रसाद देवकोटा
डोल्पा ।हरेक वर्षझैँ यस वर्ष पनि डोल्पामा भदौ शुक्ल पूर्णिमा धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामाजिक सद्भावको सन्देश बोकेर भव्य रूपमा सम्पन्न भएको छ।
ठूलीभेरी नगरपालिकाअन्तर्गत जुफाल र दुनै, त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत दापु र पहाडा तथा जगदुल्ला गाउँपालिकाका विभिन्न धार्मिकस्थलमा विशेष मेला लाग्यो। ती स्थलमा दर्शनार्थी तथा भक्तजनको उल्लेख्य सहभागिता रह्यो।
डोल्पासहित देशका विभिन्न क्षेत्रमा निरन्तर भारी वर्षा भइरहे पनि आस्थाको यात्रामा वर्षा बाधक बनेन। छाता र वर्षाती बोकेर, हिलो र चिप्लो बाटो छिचोल्दै भक्तजनहरू धार्मिकस्थल पुगे। मौसम प्रतिकूल थियो, तर आस्था अडिग देखिन्थ्यो ।
विशेषगरी जुफालको बिडी थान मण्डप र जगदुल्लाको महादेव मष्टा मन्दिर (थान) मा हजारौँ दर्शनार्थीको घुइँचो लागेको थियो। भक्तजनहरू देवताको दर्शन, पूजाआजा तथा मेलाको धार्मिक–सांस्कृतिक उल्लासमा सहभागी भएका थिए।
जुफाल मण्डप मन्दिरको भदौ पूर्णिमा मेलाको अर्को मौलिक पक्षका रुपमा भक्तजनलाई निःशुल्क प्रसाद खुवाउने परम्पराछ । मेला भर्न तथा देवताको दर्शन गर्न आउने हजारौँ भक्तजनलाई मन्दिर परिसरमा पुरी, तरकारी, मासु र दही प्रसादका रूपमा निःशुल्क खुवाउने गरिन्छ।

धार्मिक आस्थासँग जोडिएको यो परम्पराले मेला केवल दर्शन र पूजाआजामा सीमित नभई साझा भोजन, आतिथ्यता र सामुदायिक सद्भावको पर्वका रूपमा समेत स्थापित गरेको छ।
भदौ पूर्णिमा डोल्पामा धार्मिक पर्व मात्र होइन, धार्मिक एकता, सामाजिक सद्भाव, सहिष्णुता र शान्तिको कामना गर्ने साझा अवसरका रूपमा मनाइँदै आएको छ।

पुस्तौँदेखि चलिआएको यो परम्पराले गाउँ–समाजलाई एउटै आस्थाको सूत्रमा बाँध्दै आएको छ।
स्थानीय परम्पराअनुसार भाद्र शुक्ल द्वादशीदेखि पूजाआजा सुरु गरी त्रयोदशी र चतुर्दशीका दिन विशेष धार्मिक अनुष्ठान तथा जाग्राम बस्ने र पूर्णिमाका दिन मुख्य मेला लगाएर पर्व सम्पन्न गर्ने प्रचलन छ।
डोल्पाका विभिन्न धार्मिकस्थलमा भाद्र शुक्ल चतुर्दशी र पूर्णिमाका दिन विशेषगरी वर्षा र सहकालका देवताका रूपमा पूजिने देवी–देवताप्रति श्रद्धा अर्पण गर्ने गरिन्छ। यही आस्था र परम्परालाई निरन्तरता दिँदै हरेक वर्ष टाढाटाढाबाट समेत भक्तजनहरू स्नान, पूजाआजा र दर्शनका लागि धार्मिकस्थलमा पुग्ने गरेका छन्।


भौगोलिक विकटता, वर्षायामको कठिन यात्रा र प्रतिकूल मौसमका बीच पनि ठूलो संख्यामा भक्तजनको सहभागिताले डोल्पाको धार्मिक आस्था, मौलिक संस्कृति र सामुदायिक एकताको गहिरो भाव उजागर गर्ने गरेको छ।

तपाईको प्रतिक्रिया