ताजा समाचार

जटिल सुत्केरी अवस्थापछि डोल्पाकी गर्भवतीको सेनाको हेलिकप्टरमार्फत सुर्खेत उद्धार

विष्णुप्रसाद देवकोटा
डोल्पा।
हिमाली जिल्ला डोल्पामा जटिल सुत्केरी अवस्थामा रहेकी एक गर्भवती महिलाको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटकी २८ वर्षीया सविता बोहोरालाई सुत्केरी बेथा लागेपछि उपचारका लागि जिल्ला अस्पताल डोल्पा, दुनै ल्याइएको थियो। चिकित्सकीय परीक्षणपछि अस्पतालमै सुरक्षित रूपमा सुत्केरी गराउन सम्भव नभएको निष्कर्ष आएपछि विशेषज्ञ उपचारका लागि हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल, सुर्खेत पठाइएको हो।
प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार चिकित्सकको सिफारिसपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत बोहोराको आकस्मिक हवाई उद्धार गरिएको हो।
प्रजिअ हमालले दुर्गम हिमाली जिल्ला डोल्पामा जटिल सुत्केरी अवस्थाका महिलाको ज्यान बचाउन राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रभावकारी बन्दै गएको बताइन्। उनले यस्तो हवाई उद्धार सेवा विपद् तथा अन्य आकस्मिक स्वास्थ्य संकटका बेला समेत अत्यन्त आवश्यक र जीवनरक्षक साबित भइरहेको उल्लेख गरिन्।

तपाईको प्रतिक्रिया