विष्णुप्रसाद देवकाेटा
डोल्पा । हिजो साँझ परेको अविरल असिनापानीले डोल्पाका स्याउ किसानलाई गम्भीर क्षति पुर्याएको छ। स्याउको राजधानीका रूपमा परिचित त्रिपुरासुन्दरी नगरपालिका का वडा नम्बर ३/४ (जिउँ, सुउ, रंग),ठुलिभेरीनगरका वडा नम्बर ७/८ (डाँगीवाडा, जुफाल) तथा वडा नम्बर १ (थाला) लगायतका क्षेत्रमा असिनाले स्याउ खेती सखाप बनाएको हो।
महादेव फलफूल तथा बगैचा उद्योग, जिउँका प्रोपाइटर रामबहादुर गुरुङ का अनुसार करिब आधा घण्टासम्म परेको असिनाले भर्खर फुलेका स्याउका फूल र लाग्दै गरेका दाना सबै झारेर नष्ट गरेको छ।
“एकैछिनको असिनाले वर्षभरको मेहनत सखाप बनायो,” उनले भने, “गत वर्ष स्याउबाटै ३ देखि ५ लाख रुपैयाँ आम्दानी भएको थियो, तर यस वर्ष उत्पादन झन्डै शून्य हुने अवस्था छ।”
प्राकृतिक विपद्ले डोल्पाका स्याउ किसानहरूलाई आर्थिक रूपमा गम्भीर संकटमा धकेलेको छ। विशेषगरी विमा व्यवस्था नहुँदा किसानहरू थप मारमा परेका छन्। जुम्ला, मनाङ र मुस्ताङ जस्ता जिल्लामा स्याउ बाली विमा लागू भएको सुनिए पनि डोल्पामा भने यस्तो कुनै प्रभावकारी व्यवस्था नभएको किसानहरूको गुनासो छ।
राष्ट्रिय कृषि आधुनिकीकरण तथा कार्यक्रम कार्यान्वयन इकाई डाेल्पाका प्रमुख गाेविन्द बहादुर मल्लले स्याउ किसानहरुलाई विमा गर्न विगतदेखि नै सुझाउदै आएपनि खासै चासाे नदिएकाे बताए ।
मल्लले भने हाम्राे कार्यालयबाट जब सम्म स्याउकाे विमा गरिदैन तब सम्म विभिन्न कार्यक्रमकाे बजेट राेक्का गरिदिदा समेत पनि विमा नगरेपछि अन्त्यमा बाध्य भएर कार्यक्रम तथा याेजनाकाे भुक्तानी दिएकाे बताए ।
डोल्पाली किसानहरूले विपद्का कारण भएको क्षतिको उचित मूल्यांकन गरी राहत तथा बाली विमा व्यवस्था तत्काल लागू गर्न सरकारसँग जोडदार माग गरेका छन्। दुर्गम क्षेत्रमा कृषिमा आश्रित किसानहरूको जीवनरक्षा र उत्पादनको सुनिश्चितताका लागि राज्यले समयमै हस्तक्षेप नगरे, डोल्पाको स्याउ खेती संकटमा पर्ने देखिन्छ।

डोल्पा न्यूज । १३ बैशाख २०८३, आईतवार १२:५१