ताजा समाचार
डाेल्पामा चैत्र रामनवमी विशेष

रामनवमीमा डोल्पाको त्रिपुरासुन्दरीमा विशेष पूजा, नवदुर्गा मूलगाथमा विराजमान

विष्णुप्रसाद देवकोटा

हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी क्षेत्रमा अवस्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा रामनवमीको अवसरमा विशेष पूजा–आराधना सम्पन्न गरी देवी नवदुर्गा भगवतीलाई विधिपूर्वक मूलगाथमा विराजमान गराइएको छ।

नवरात्र अवधिभर होम–यज्ञसहित यज्ञकुण्डमा स्थापित गरी विशेष पूजाआजा गरिएकी देवीलाई परम्पराअनुसार रामनवमीका दिन पुनः मूलस्थानमा प्रतिष्ठापन गरिएको हो। घटस्थापनादेखि अष्टमीसम्म निरन्तर आराधना गरिने र नवदुर्गालाई विधिवत् पूजा गरेर मूलगाथमा फर्काउने प्राचीन चलन यहाँ आजसम्म जीवित रहेको छ।

देवीलाई मूलगाथमा विराजमान गराइएपछि स्थानीय संस्कृतिअनुसार मूल पुजारी नायकको घरमा ‘बर्यात’ लगेर बसन्त ऋतु आगमनको सन्देशसमेत प्रवाह गरिएको छ। यस क्रममा देवकोटा थरका गणेश पुजारीले न्यौपानेथरका मूल पुजारीलाई टीका–टाला अर्पण गरेका थिए भने उपस्थित श्रद्धालुहरूलाई प्रसाद वितरण गरिएको थियो। त्यसपछि पञ्चेबाजा–गाजासहित  मुलपुजारी र देवीकाे कलश सहितकाे  टिका थालीलाई पुन:  मन्दिरमा विधिवत् ल्याइएको थियो।

मन्दिरका पुजारी लक्ष्मीकान्त उपाध्याय (न्यौपाने)का अनुसार सुकदेव न्यौपानेको पालादेखि झण्डै ११ सय वर्षअघिदेखि चलिआएको परम्पराअनुसार चैत्र दशैंमा घटस्थापनादेखि रामनवमीसम्म विशेष पूजाआजा गरी देवीलाई मूलगाथमा विराजमान गराउने चलन रहिआएको छ।

 वर्षमा दुई पटक—चैत्र दशैंको रामनवमी र बडादशैंको विजयादशमी (टीका)का दिन—मूल पुजारी नायकको घरमा पूजा–बर्यात लैजाने परम्परा यथावत् कायम रहेको बताउँछन् पुजारी लक्ष्मीकान्त उपाध्यायले बताए ।

रामनवमीका दिन मन्दिर परिसरमा भक्तजनहरूको उल्लेख्य भीड लागेको थियो। श्रद्धालुहरूले देवीको दर्शन गरी पूजा–अर्चना गर्दै आशीर्वाद लिएका थिए। परम्परा, संस्कृति र आस्थाको अद्वितीय संगमका रूपमा रहेको यो उत्सवले डोल्पाको धार्मिक पहिचानलाई अझ सशक्त बनाउने  विश्वास रहेकाे छ।

तपाईको प्रतिक्रिया