विष्णुप्रसाद देवकोटा
डोल्पा । नेकपा (एमाले) डोल्पाका सचिवालय सदस्य तथा जगदुल्ला गाउँपालिका सह–इन्चार्ज टेक शाहीले पार्टीका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन्। उनले अब कुनै पनि राजनीतिक दलमा सक्रिय नरहने घोषणा गर्दै सञ्चारकर्ममै फर्किने बताएका छन्।
लामो समयदेखि एमालेको विभिन्न संगठनात्मक जिम्मेवारीमा रहेर काम गर्दै आएका शाही पेशाले पत्रकारसमेत हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको घोषणामा पछिल्ला केही वर्ष राजनीतिक रूपमा सक्रिय रहेर एमालेमा आबद्ध भई आफूलाई दिइएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गरेको विश्वास व्यक्त गरेका छन्।
शाहीले पार्टीमा आफूले बोकेको पद, जिम्मेवारी र राजनीतिक आस्थाबाट पूर्णविराम लगाउँदै आजकै मितिदेखि कुनै पनि राजनीतिक दलमा सक्रिय नरहने घोषणा गरेका हुन्।
राजीनामासँगै उनले राजनीतिक यात्राका क्रममा साथ, सहयोग र सद्भाव व्यक्त गर्ने सबै शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्। व्यक्तिगत रूपमा कसैसँग पनि मनमुटाव नरहेको र सबैप्रति सम्मान कायम रहने उल्लेख गर्दै उनले आफ्नो निर्णय व्यक्तिगत भएको बताएका छन्।
करिब एक दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय रहँदै आएका शाहीले अब बाँकी समय मिडिया कर्ममै समर्पित गर्ने प्रतिबद्धता जनाएका छन्। डोल्पाको हितका लागि कलम र क्यामेरा चलाउने बताउँदै उनले सकेसम्म राम्रो गर्ने र नसके पनि नराम्रो नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
आफ्नो राजनीतिक निर्णयलाई लिएर विभिन्न अड्कलबाजी, आलोचना र टिप्पणी हुनसक्ने भन्दै शाहीले त्यसलाई सहज रूपमा स्वीकार गर्ने बताएका छन्। ‘तालीभन्दा गालीले नै खास काम सिकाउँछ र अघि बढ्न मद्दत गर्छ’ भन्ने आफूले बुझेको उल्लेख गर्दै उनले आलोचनालाई पनि आफ्नो यात्राको हिस्साका रूपमा लिने बताएका छन्।
सञ्चार जगतमा पुनः सक्रिय हुँदै सत्य र विश्वसनीय पत्रकारितामार्फत आफ्नो पहिचान स्थापित गर्ने बाटोमा आफू अघि बढेको शाहीले बताएका छन।पार्टीकाे आर्थिक सहयाेगमा मिडिया संचालन गर्ने र सत्य तथ्य भन्दा पार्टी कार्यकर्ताकाे रुपमा मुख पत्र भएर आफुलाइ मिडियामा पस्केर पत्रकारीता पेशालाई धज्जी उडाउने कर्ममा लिनहरुकाे लागि शाहीकाे याे राजिनामाले राम्रो सन्देश दिएकाे छ ।
एमाले डोल्पाका सचिवालय सदस्य टेक शाहीद्वारा पार्टीका सबै जिम्मेवारीबाट राजीनामा
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । ८ श्रावण २०८३, शुक्रबार ११:५०