विष्णुप्रसाद देवकोटा
त्रिपुरासुन्दरी नगरपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा स्वास्थ्य क्षेत्रबाट सम्पादित कार्यक्रम तथा स्वास्थ्य सूचकको वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ।
नगरपालिकाको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको समीक्षा गोष्ठीमा गत आर्थिक वर्षमा सञ्चालन तथा सम्पन्न भएका स्वास्थ्य कार्यक्रम, स्वास्थ्य सूचकको प्रगति, उपलब्धि, समस्या तथा चुनौतीबारे विस्तृत समीक्षा गरिएको थियो। साथै आगामी दिनमा नगरपालिकाको स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउन आवश्यक कार्ययोजना निर्माण गरिएको छ।
समीक्षाका क्रममा आर्थिक वर्ष २०८१/०८२ को तुलनामा २०८२/०८३ मा घरमै सुत्केरी हुने महिलाको संख्या घटेको तथ्यलाई स्वास्थ्य क्षेत्रको महत्वपूर्ण सकारात्मक उपलब्धिका रूपमा लिइएको छ। संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्ने तथा सुरक्षित मातृत्व सेवाको पहुँच विस्तार गर्ने प्रयास प्रभावकारी बन्दै गएको निष्कर्ष निकालिएको छ।
आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य क्षेत्रको आगामी कार्ययोजना समेत तयार गरिएको छ। स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने, स्वास्थ्य सूचक सुधार गर्ने तथा नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने विषयलाई कार्ययोजनामा प्राथमिकता दिइएको स्वास्थ्य शाखा प्रमुख तुलबहादुर श्रेष्ठले बताए।
कार्यक्रममा नगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ कर्मचारीलाई सम्मानसमेत गरिएको थियो। स्वास्थ्यकर्मी मध्ये लिकु स्वास्थ्य चौकीमा कार्यरत सि.अनमी धर्मादेवी बोहरा उत्कृष्ट कर्मचारीका रूपमा सम्मानित भइन् ।
त्यसैगरी नगरपालिकाअन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्था तथा स्वास्थ्य सेवा कार्यालय दुनैलाई प्रशंसापत्र प्रदान गरिएको थियो।
नगर उपप्रमुख देवी घर्तीको अध्यक्षतामा सम्पन्न समीक्षा गोष्ठीमा निमित्त प्रमुख प्रशासकीय अधिकृत थानेश्वर पनेरू,स्वास्थ्य सेवा कार्यालय दुनैका डा. अजय पाण्डे,वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरू, शाखा प्रमुख, पोषण फोकल पर्सन, एमडीआई संयोजक तथा प्रतिनिधि, स्वास्थ्य संस्था प्रमुख र बर्थिङ सेन्टरमा कार्यरत नर्सिङ कर्मचारी लगायतको सहभागिता रहेको थियो।
गोष्ठीले विगतका कार्यक्रमको उपलब्धि र कमजोरीको समीक्षा गर्दै आगामी वर्ष स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, संस्थागत सुत्केरीलाई थप प्रोत्साहन तथा स्वास्थ्य प्रणालीको सुदृढीकरणमा केन्द्रित भएर अघि बढ्ने आधार तय गरेको छ।
स्वास्थ्य सूचक सुधारतर्फ त्रिपुरासुन्दरीको पाइला:दुई दिने वार्षिक समीक्षा सम्पन्न
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । ३० श्रावण २०८३, शनिबार १८:२६