
विष्णुप्रसाद देवकोटा
डोल्पा । डोल्पाको प्रसिद्ध शक्तिपीठ श्री बाला त्रिपुरा सुन्दरी भगवती मन्दिरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ–२०८३ सोमबारदेखि विधिवत् शुभारम्भ भएको छ।
महायज्ञ प्रारम्भ हुनुअघि मन्दिरको हरिकीर्तन प्राङ्गणबाट पञ्चेबाजागाजासहित भव्य शोभा कलश यात्रा निकालिएको थियो। धार्मिक आस्था, स्थानीय संस्कृति र सामुदायिक सहभागिताको सुन्दर संगम बनेको कलश यात्रामा प्रमुख अतिथि, विभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, भक्तजन, मन्दिर सरोकारवाला, शिक्षक–शिक्षिका, विद्यार्थी, आमा तथा महिला समूहका दिदीबहिनीहरूको उल्लेख्य सहभागिता थियो।
कलश यात्रामा त्रिपुरा माध्यमिक विद्यालय काटियाचौर र हिमज्योति आधारभूत विद्यालयका बालबालिका समेत सहभागी भएका थिए। मन्दिरबाट सुरु भएको यात्रा कठायत ब्राह्मण तथा विष्ट बस्ती, त्रिपुरासुन्दरी नगरपालिका हुँदै बगरबजार, नयाँबस्ती र सिम भएर अघि बढेको थियो।
कलश यात्रा भैरवी र ताम्राबणी नदीको संगमस्थल छलगाड पुगेपछि त्यहाँबाट धार्मिक विधिअनुसार पवित्र जल संकलन गरिएको थियो। पवित्र जलसहितको कलश पुनः मन्दिरमा ल्याई महायज्ञस्थलमा स्थापना गरिएको छ।
कलश यात्रापछि आयोजित उद्घाटन समारोहमा प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकाल, विशिष्ट अतिथि तथा पूर्वसभासद बदमी क्वारी बुढा, महायज्ञ मूल आयोजक समितिका अध्यक्ष टंकप्रसाद उपाध्याय, त्रिपुरासुन्दरी अक्षयकोष विकास समितिका अध्यक्ष लक्ष्मीकान्त उपाध्याय र प्रमुख कथावाचक पण्डित ईश्वर रेग्मीले संयुक्त रूपमा महायज्ञको ब्यानर वाचन गरी उद्घाटन गरेका थिए।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले महायज्ञले धार्मिक आस्था अभिवृद्धि गर्नुका साथै डोल्पाको धार्मिक पहिचानलाई स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउने बताइन्। महायज्ञबाट नेपालमा मात्र नभई विश्वभर हिन्दु धर्म र बाला त्रिपुरा सुन्दरी भगवती मन्दिरको महिमा प्रचारप्रसारमा समेत सहयोग पुग्ने उनको भनाइ थियो।
विशिष्ट अतिथि तथा पूर्वसभासद बदमी क्वारी बुढाले महायज्ञलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सबैले आ–आफ्नो तह र तप्काबाट सहयोग गर्न आग्रह गरिन्।
महायज्ञ मूल आयोजक समितिका अध्यक्ष टंकप्रसाद उपाध्यायले महायज्ञमा सहभागी भएर धार्मिक पुण्यलाभ लिन श्रद्धालु भक्तजनलाई आग्रह गरे।
त्यस्तै, त्रिपुरासुन्दरी अक्षयकोष विकास समितिका सचिव टिकादत्त न्यौपानेले हराएकी योगमायाको शिला प्राप्त होस् भन्ने कामनासहित विश्वशान्ति तथा धार्मिक अनुष्ठानलाई जागृत गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको बताए।
भाद्र १५ देखि २२ गतेसम्म सञ्चालन हुने महायज्ञमा श्रीमद् भागवत कथा प्रवचन, धनधान्याचल, पितृमोक्ष, शालग्राम पूजार्चना, भजन–कीर्तन, झाँकी, नृत्य तथा विभिन्न धार्मिक अनुष्ठान सञ्चालन हुनेछन्। डोल्पामै पहिलोपटक श्रृङ्गारिक महाआरती समेत आयोजना गरिने आयोजकले जनाएको छ।
महायज्ञका प्रमुख कथावाचक युवा पण्डित ईश्वर रेग्मी रहेका छन्। महायज्ञमा श्रद्धालुका लागि तुलादान, भूमिदान, पितृका नाममा दान, चौरासी पूजा, ब्राह्मण भोजन, प्रसादी वितरण, विवाह, ग्रहशान्ति, सत्यनारायण पूजा तथा लक्ष्यवर्ती पूजालगायत धार्मिक सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ।
महायज्ञलाई धार्मिक अनुष्ठानमा मात्र सीमित नराखी बाला त्रिपुरा सुन्दरी भगवती मन्दिरको भौतिक पूर्वाधार विकास, सर्वाङ्गीण विकास तथा धार्मिक पर्यटन प्रवर्द्धनसँग जोडिएको आयोजकले जनाएको छ।
महायज्ञका लागि सम्मानपत्र, प्रशंसापत्र, यज्ञमण्डप, मन्दिर परिसरको सजावट, भक्तजन व्यवस्थापन तथा अन्य आवश्यक तयारीसमेत पूरा भएकाे छ। दानदाता तथा महायज्ञमा योगदान पुर्याउने व्यक्तिलाई योगदानअनुसार सम्मान गर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
शोभा कलश यात्रामा सरकारी निकाय, सुरक्षा निकाय, विद्यालय, महिला तथा आमा समूह, स्थानीयवासी र भक्तजनको उत्साहजनक सहभागिताले त्रिपुराकोटको धार्मिक वातावरणलाई थप उल्लासमय बनाएको थियो।महायज्ञ भाद्र २२ गते पूर्णाहुति तथा यज्ञ विसर्जनसँगै सम्पन्न हुनेछ।

डोल्पा न्यूज । १५ भाद्र २०८३, सोमबार २१:२९