विष्णुप्रसाद देवकोटा
डोल्पा । हिमाली जिल्ला डोल्पाका यार्सा पाटन क्षेत्रमा हुन सक्ने बालविवाह, जबर्जस्ती चोरी विवाह, लैङ्गिक हिंसा तथा मानवअधिकार उल्लङ्घनका सम्भावित घटनाप्रति चिन्ता व्यक्त गर्दै सरोकारवाला निकायहरूले जिल्ला प्रशासन कार्यालय डोल्पालाई संयुक्त ज्ञापनपत्र बुझाएका छन् ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकाललाई बालविवाह विरुद्धको साझा अभियान सञ्जाल डोल्पाका प्रदेश सदस्य रणबहादुर कार्कीकाे अगुवाइमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् ।
ज्ञापनपत्रमा यार्सागुम्बा संकलनको मौसममा पाटन क्षेत्रमा हजारौं मानिसको भीडभाड हुने भएकाले बालबालिका र महिलामाथि हिंसा तथा विभिन्न सामाजिक विकृति बढ्ने जोखिम औंल्याइएको छ ।
बालविवाह विरुद्धको साझा अभियान कर्णाली प्रदेश सदस्य तथा गैसस महासंघ कर्णाली प्रदेश सचिव रणबहादुर कार्कीका अनुसार विगतका वर्षहरूमा यार्सा संकलनका लागि पाटन पुगेका किशोर–किशोरीहरू उमेर नपुग्दै विवाह गर्ने, चोरी विवाह हुने, दुर्व्यवहार र लैङ्गिक हिंसाका घटनाहरू बाहिर आउने गरेका थिए । यही अवस्थालाई मध्यनजर गर्दै प्रशासनलाई समयमै सचेत गराउन ज्ञापनपत्र बुझाइएको उनले बताए ।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज तथा सामुदायिक वन क्षेत्रअन्तर्गत पर्ने दर्जनौं यार्सा पाटन आगामी जेठ १० गतेदेखि एक महिनाका लागि खुला हुँदैछन् । यार्सा संकलनको समयमा जिल्लाभित्र तथा बाहिरबाट हजारौं संकलक पाटन क्षेत्रमा पुग्ने गर्दछन् ।
ज्ञापनपत्रमा बालविवाह, जबर्जस्ती विवाह, लैङ्गिक हिंसा, लुटपाट, कुटपिट, चोरी–डकैती, जुवातास तथा मदिराजन्य वस्तुको बिक्री वितरणबाट सामाजिक समस्या सिर्जना हुने उल्लेख गरिएको छ ।
साथै वन क्षेत्रको सीमाना विवादका कारण गाउँ–गाउँबीच झडप, वातावरणीय प्रदूषण, वन विनाश तथा वन्यजन्तु चोरी शिकारीका घटना बढ्न सक्ने चेतावनी पनि दिइएको छ ।
सञ्जालले यस्ता सम्भावित घटनाको रोकथामका लागि प्रशासन, सुरक्षा निकाय, वन कार्यालय, राष्ट्रिय निकुञ्ज तथा स्थानीय तहबीच प्रभावकारी समन्वय, उच्च सतर्कता र सुरक्षा संयन्त्र परिचालन गर्न माग गरेको छ ।
पाटन क्षेत्रमा हुने गतिविधिको निगरानी, शीघ्र सूचना सम्प्रेषण र दोषीमाथि कानुनी कारबाही सुनिश्चित गर्न पनि आग्रह गरिएको छ ।
ज्ञापनपत्रमा मानवअधिकार संरक्षण, बालअधिकार प्रवर्द्धन तथा वातावरण संरक्षणका लागि आफूहरू व्यक्तिगत र संस्थागत रूपमा सहकार्य गर्न प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा बालविवाह विरुद्ध साझा अभियान सञ्जाल डोल्पा, अन्तरपार्टी महिला सञ्जाल डोल्पा, गैरसरकारी संस्था महासंघ जिल्ला शाखा डोल्पा तथा मानवअधिकार रक्षक समूह सञ्जाल डोल्पाका प्रतिनिधिहरुले संयुक्त हस्ताक्षर गरेका छन् ।

डोल्पा न्यूज । १ जेष्ठ २०८३, शुक्रबार २१:३९