विष्णुप्रसाद देवकोटा
कागकोट (डोल्पा) — छार्काताङ्सोङ्ग गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २७ करोड ९९ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। १८औँ गाउँसभामा पेश गरिएको बजेट तथा कार्यक्रम गाउँ कार्यपालिकाबाट पारित भएको हो।
गाउँपालिकाले चालुतर्फ १२ करोड ८० लाख २८ हजार रुपैयाँ र पुँजीगततर्फ १४ करोड २० लाख ६२ हजार रुपैयाँ विनियोजन गरेको छ। बजेटले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धन तथा रोजगार सिर्जनालाई मुख्य प्राथमिकतामा राखेको छ।
गाउँपालिका अध्यक्ष सेनाङ गुरुङका अनुसार विकासका दृष्टिले पछाडि परेका वडाहरूमा सन्तुलित विकास सुनिश्चित गर्न जनसंख्या, क्षेत्रफल, विकासको अवस्था, आन्तरिक आय, पूर्वाधार लागत तथा आवश्यकताको प्राथमिकीकरणका आधारमा स्रोत बाँडफाँडको व्यवस्था गरिएको छ।
यस वर्षको बजेटको विशेष आकर्षणका रूपमा गाउँपालिकाले पर्यटन क्षेत्रलाई आन्तरिक आय वृद्धिको प्रमुख आधार बनाउने नीति लिएको छ। गाउँपालिकाभित्र रहेका प्राकृतिक तथा सांस्कृतिक पर्यटकीय गन्तव्यहरूको पहिचान, संरक्षण र प्रचारप्रसार गरी स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने योजना अघि सारिएको छ।
त्यस्तै, भौगोलिक विकटता र बाह्य निर्भरतालाई चुनौतीका रूपमा पहिचान गर्दै ‘एक गाउँ–एक उत्पादन’ कार्यक्रमलाई प्राथमिकता दिइएको छ। स्थानीय उत्पादनको प्रवर्द्धनमार्फत रोजगारी सिर्जना र आयआर्जन वृद्धि गर्ने लक्ष्य बजेटले लिएको छ।
कृषि तथा पशुपालन क्षेत्रका ठूला परियोजना सञ्चालनका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरिने जनाइएको छ। साथै एकीकृत बस्ती विकास कार्यक्रमलाई समेत बजेटमा समेटिएको छ।
गाउँपालिकाले प्रस्तुत गरेको बजेटले पर्यटन, कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई समेट्दै स्थानीय आर्थिक समृद्धि र नागरिकको जीवनस्तर सुधारमा केन्द्रित रहेको जनाएको छ।
छार्काताङ्सोङ्गकाे बजेट २७ करोड ९९ लाख:‘एक गाउँ–एक उत्पादन’लाई प्राथमिकता
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । १० असार २०८३, बुधबार २१:११