विष्णुप्रसाद देवकोटा
डोल्पा ।भेरी करिडोरअन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ स्थित सुपानी–राताढुस्का क्षेत्रमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
अस्तिदेखि परेको अविरल वर्षाका कारण भिजेको जमिन आज घाम लागेपछि पग्लिँदा सुख्खा पहिरो खसेको स्थानीयले बताएका छन्। पहिरोका कारण सदरमुकाम दुनैतर्फ जाने तथा त्रिपुरासुन्दरीतर्फ आउने सवारीसाधन दुवैतर्फ रोकिएका छन्।
सडक अवरुद्ध भएपछि दुनैमा जारी दोस्रो डोल्पा पर्यटन तथा सांस्कृतिक महोत्सवमा सहभागी हुन जाने दर्शक, नियमित यात्रु तथा सवारीसाधनहरू बाटोमै अलपत्र परेका छन्। कतिपय यात्रुहरू पहिरो क्षेत्र पैदल पार गर्न बाध्य भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी प्रमुख डिएसपी अनिलराज गिरीले सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको र सडक खुलाउन प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरिरहेको जानकारी दिए।
पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने काम तत्काल अघि नबढे यात्रु तथा सवारीसाधनले थप सास्ती व्यहोर्नुपर्ने देखिएको छ।
भेरी करिडोरमा सुख्खा पहिरो, दुवैतर्फको यातायात ठप्प
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । १० श्रावण २०८३, आईतवार ०९:१६