ताजा समाचार
आत्मनिर्भरकाे प्रयास

डोल्पाकाे पहाडामा दुई महिने सिलाइ–कटाइ तालिम सम्पन्न 

विष्णुप्रसाद देवकोटा

डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका–७ मा दुई महिने सिलाइ–कटाइ तालिम सम्पन्न भएको छ। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय डोल्पाको आयोजनामा कैलासी सामुदायिक महिला समूहका १४ जना महिलालाई लक्षित गरेर सञ्चालन गरिएको थियो।

“औद्योगिक वातावरण सुधार, अर्थतन्त्रको आधार” भन्ने नारासहित महिला सामुदायिक भवनमा सञ्चालन भएको तालिम २०८२ पुस २६ गतेदेखि फागुन २६ गतेसम्म चलेको थियो। तालिममा कैलासी सामुदायिक महिला समूहकी अध्यक्ष धनसरी केसीको नेतृत्वमा १४ जना महिलाले सहभागिता जनाएका थिए।

तालिम समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाले सीपमूलक तालिमले बेरोजगारी घटाउँदै महिलालाई स्वावलम्बी बनाउन सहयोग गर्ने बताए। उनले सिकेको ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्दै इच्छाशक्ति, क्रियाशक्ति र लगनशीलता भए जीवनमा असम्भव भन्ने केही नरहेको उल्लेख गरे।

उनले वर्तमान समय प्रतिस्पर्धाको भएकाले सिकेको सीपलाई निरन्तर अभ्यास गर्दै निखार्नुपर्नेमा जोड दिए। सहभागीहरूले तालिमबाट सिकेको सीपलाई व्यवहारमा कति प्रयोग गरेका छन् भन्ने विषयमा स्थानीय सरकार र सम्बन्धित निकायले निगरानी गर्ने तथा प्रभावकारी प्रयोग भएको अवस्थामा थप तालिमको व्यवस्था गरिने पनि उनले बताए।

कार्यक्रममा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय डोल्पाका प्रमुख खिमप्रकाश शाहले सीमित स्रोतसाधनका बावजुद दुर्गम गाउँका महिलालाई सीपमार्फत स्वरोजगार बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए। उनका अनुसार  कार्यालयको ७० प्रतिशत र सहभागीको ३० प्रतिशत लगानीमा सीपमूलक तालिम  सञ्चालन गरिएको हो। सहभागीमा अपनत्व र लगावको भावना बढाउन सरकारले पनि यस्तो साझेदारी नीति अपनाएको उनले जानकारी दिए।

तालिमकी प्रशिक्षक विजया जैसीले सिकेको सीपलाई निरन्तर अभ्यासमा ल्याए घरमै बसेर थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिने बताइन्। उनले कम्तीमा पनि घरपरिवारका लागि कपडा सिलाउन बाहिर खर्च गर्न नपर्ने भएकाले सीपलाई व्यवहारमा लागू गर्न आग्रह गरिन्।

कैलासी सामुदायिक महिला समूहकी अध्यक्ष धनसरी केसीले महिलालाई उद्यमशील बनाउन उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले सहयोग गरेकोमा धन्यवाद व्यक्त गरिन्। उनले यस्तो आधारभूत तालिमले गाउँका महिलालाई स्वरोजगार बन्न प्रेरणा मिल्ने उल्लेख गर्दै आगामी दिनमा उच्चस्तरको थप तालिमको व्यवस्था गरिदिन आग्रह गरिन्।

समापन कार्यक्रममा तालिममा सहभागी १४ जना महिलालाई प्रमुख अतिथि श्यामबहादुर रोकाया र कार्यालय प्रमुख खिमप्रकाश शाहले प्रमाणपत्र वितरण गरेका थिए। साथै उद्योग कार्यालयको तर्फबाट १४ वटा सिलाइ मेसिनसहित धागो, कपडा, फिता लगायत आवश्यक सामग्री पनि प्रदान गरिएको थियो।

कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य शान्तबहादुर रोकाया, त्रिपुरासुन्दरी नगरपालिका–७ का वडा सदस्य आदिचन्द्र रावत, उद्योग कार्यालयका लेखापाल तथा सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो। तालिम कार्यक्रमको कुल लागत करिब ३ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ।
तपाईको प्रतिक्रिया